
काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो ।
पौडेललगायत थुप्रै केन्द्रीय तहका नेताका साथमा उम्मेदवारी दर्ता गराउने क्रममा ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति थियो । बुटवल पौडेलको गृहनगर हो । उम्मेदवारी दर्ता गराएपछि भट्टराईले बुटवलको विकासमा काँचुली फेर्नेगरी योजना ल्याउने बताउनुभयो ।
बुटवलको सडक निर्माणमा समन्वय गरी आवश्यक पहलकदमी लिने, विगतमा एमाले नेतृत्वले अगाडि सारेका विकासका योजनालाई अगाडि बढाउने, दीर्घकालीन योजनासहित समृद्ध बुटवलको सपना साकार पार्ने योजना उहाँले बताउनुभयो ।
त्यसैगरी उपमेयरमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले बुटवलमा पाका उमेरका महिलाहरूले पढ्ने साधना महिला विद्यालय स्थापना गरी शैक्षिक अभियानसमेत चलाउनुभएको छ ।
यसअघि कांग्रेसका खेलराज पाण्डेले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँ गठबन्धनबाट उम्मेदवार भए पनि मनोनयन दर्ताका क्रममा कांग्रेस बाहेकका दल उपस्थित थिएनन् । भागबन्डालाई लिएर बढेको असन्तुष्टिका कारण अन्य दल कांग्रेससँग टाढिएर मनोनयन दर्तामा एकसाथ जानुभएको हो । उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले सम्मानजनक स्थान नदिएकाले गठबन्धनभित्र मतभेद रहेको स्वीकारनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्