
राजन कुईंकेल
दिनांक १९ चैत्र २०७६, बुधबार ।
जीवनसँग अभिन्न रुपमा जोडिएका तर प्रकृतिले दिएका परिणाम ब्यहोरेको दुई भिन्न अनुभूति लिपिवद्ध गरिरहँदा अहिले म आफ्नै घरको बिछ्यौनामा छु । र यसरी बिछ्यौनादेखि बैठक कक्ष, बरण्डा र घरको पर्खालभित्र सीमित भएको आज नवौं दिन हो । यस्तो मैले मात्र ब्यहोरेको होइन सबैजसो नेपाली र विश्वभरका मानिस यही भोग्दै छन् । यो सबै प्रकृतिबाट उपहारप्राप्त नयाँ भाइरस कोरोनाको परिणाम हो । यद्यपि, चैत ११ मा सरकारले बन्दाबन्दी घोषणा गरेयता म दुई पटक काठमाडौंको पानीपोखरीस्थित कार्यालय दुई पटक पुगें । यस पेशागत जीवनका मेरा करिब दुई दशक रात–विरात, झिसमिसे–दिन–साँझ–मध्यरात, हिउँदे ठिही होस् वा भदौरे भेलका दुई तिहाई समय पेशाकै भागदौडमा बित्यो ।
माओवादी सशस्त्र हिंसाकालमा समाचार संकलन गर्दा होस् वा शान्तिपूर्ण आन्दोलन, रात विरात सुरक्षाकर्मीको आँखा छल्दै समाचार खोज्दा मोर्चाको अग्रभाग कहिल्यै छाडिएन । चार वर्ष अगाडि आएको भुईंचालोमा मृत्युका, ध्वस्त संरचनामा किचिएर प्राणपखेरु उड्न लागेका हुन् वा उद्दार र राहतका सन्दर्भका खबर संकलनमा कहिं ओझेल परिएन । जीवनप्रतिको अनुराग नभएर अग्रपंक्तिमा रहेको होइन । यो पेशा मेरो रोजाई थियो । राम्रो तलब सुबिधा भएको गैरसरकारी संस्थाको जागीर छाडेर म यो पेशा समात्न आइपुगेको थिए । त्यसैले यसमा आइपर्ने चुनौति झेल्ने पनि मैले नै हो भन्ने मलाई पूर्ण ज्ञान छ ।
दुई दशकको यात्रामा लामो बिदा नबसेको पनि होइन । महिना दिनसम्म बिदा लिएर पटक पटक वैदेशिक यात्रामा गएको छु । तर त्यसबेला मैले आफुलाई कहिल्यै आफ्नो पेशाभन्दा टाढा रहेको भान पाइन । तर आज नौ दिन मलाई नौलो लाग्दैछ । त्यो कार्यालय जहाँ मैले जीवनका दुई दशक बिताए । दुई दिन नपुग्दा आफैलाई अपराधबोध भइरहेछ । म आफुलाई जोगाउने कोशिशमा सकेसम्म पेशागत जिम्मेवारीबाट पछि त हटिरहेको त छैन ? मेरा मनमा यस्तै भाव र तर्कनाले ठाउँ लिइरहन्छ । मेरा सहकर्मी साथिहरु जो नागरिकको सुसूचित हुने अधिकार पूरा गर्न आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्, ति सबैप्रति म नतमस्तक छु । ति साच्चिकै गर्व गर्न लायक छन् । साच्चिकै हिम्मतिला छन् । जीवनमा कोठाभित्र बन्द रहेर पत्रकारितालाई सीमित गर्ने दिन आउला भन्ने कहिल्यै सोचिएन । तर कोरोना भाइरस आज सारा पृथ्वी जगतमा मानिसलाई स्थानहदमा घेराबन्दी गर्न सफल भएको छ । मृत्युको त्रास आज सारा पृथ्वीभरका मानिसमा दौडिरहेको छ ।
छटपटिन्छ मन, ब्याकुल हुन्छ तन, स्वास्थ्य सामग्री किन्दा नै कमिशनको खेल !
घर पनि तेसै त कसरी बस्नु र ? सञ्चारकर्मी, काम त सूचनाकै खेती न हो । घरबाटै सूचना स्रोतको सहायतामा समाचार लेख्नु, प्रकाशन र प्रशारण गर्नु त छँदैछ । यता देशको स्वास्थ्य संरचनाको अवस्था देख्दा मन तेसै तेसै कुढिन्छ । गर्न त के सकिन्छ र ? लेख्ने हो । बोल्ने हो । आमजनताका बीचमा तिनै विषयलाई प्रशारण गर्ने हो । तीस वर्षे पञ्चायतले केही गरेनौं भनेर सत्तोसराप गर्यौं । तर २०४६ पछि का तीस वर्षमा पनि केही नेता, तिनका भरौटे, बिचौलिया, ठेकेदारको भुँडी उकास्नेबाहेक केही भएको रहेनछ । देशभित्रै सीमित महामारीका समयमा त विदेशीले दिने टालोले लाज ढाकेका पो रहेछन् त । अहिले त कोरोनाले देखाइदिई हाल्यो नि । संसार आफ्नै समस्यासँगै लडिरहेको छ । नेपालका लागि कस्ले सुम्सुम्याउने ? शासकले जति नै झूठको लेप लगाए पनि एकपछि अर्को गर्दै शासकीय निकम्मापन छताछुल्ल भैहाल्यो ।
स्वाब अर्थात् र्याल जाँच्ने एउटा किटसम्म छैन । विशेषज्ञदेखि स्वास्थ्यकर्मीले लगाउने एउटा सुरक्षा गाउनसम्म छैन । तैपनि सरकार भन्दैछ म गर्दैछु । समय पाउञ्जेल गुड्डी हाँक्दै बस्यो । ‘जब पर्यो राति अनि बुढी ताती’को ताल देखियो । जता हेर्यो तेतै लथालिंग । दुई महिनासम्म स्वास्थ्य सामग्री र औषधि नकिनेको सरकारले समय घर्काएर भीरको डिलमा पुगेपछि संकटलाई देखाएर सारा प्रक्रिया निलम्बन गरेर आफूनिकटका केही व्यापारीसँग सामान आयातको सम्झौता गर्यो । त्यो पनि ४८ गुणासम्म महँगो तिर्ने गरी । प्रश्न गर्नै नपाइने । सोध्यो स्वास्थ्य मन्त्री भन्छन्, ‘यसको जवाफ दिनुपर्छ भन्ने मलाई लाग्दैन’ ।
उच्चस्तरीय समितिमा रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका छोरा र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका छोरा नै यो खरिदकाण्डमा जोडिएको समाचार सार्वजनिक भएका छन् । होला यस खरिदमा लाग्या बानी छाडेर मन्त्रीहरु साधु नै बनिदिए होलान्, आशा गरौं । तर बिगतका खरिदलगायतका निर्णयले हामीलाई विश्वास गर्ने आधार र ठाउँ दिँदैन । विमान खरिदका चार अर्ब प्रकरण ज्यूँदै छ । सुरक्षण प्रिन्टिङकाण्डमा अर्बौ कुम्ल्याउने दाउमा प्रधानमन्त्रीका सबैभन्दा प्रिय मन्त्री गोकुल बाँस्कोटाले त सञ्चारमन्त्रीको पद नै गुमाउनु परेको यथार्थ हाम्रै अघिल्तिर छ ।
हरेक संकट र समस्या भ्रष्टाचारको मौका र लूटको ताक कुरेर बसेका गिद्धहरुका लागि अवसर बनिदिँदो रहेछ । माओवादी सशस्त्र हिंसामा दैनिक दर्जनौं मानिस मारिइरहेका थिए । देश थिलथिलो थियो । बन्दुक, गोला बारुद र युद्ध बन्दोबस्तीको नाममा केहीलाई देश लूट्ने लाइसेन्स मिलिरहेको थियो । माओवादीका केही युद्ध सरदारलाई सरकारी अड्डा, बैंक कब्जा गर्दै व्यक्तिका सम्पत्ति लूट्न उत्तिकै मौका मिलिरहेको थियो । भूकम्पमा सारा देश पीडामा छट्पटाइरहेको थियो । दशौं हजार मानिसले आफन्त गुमाएका थिए । दशौं हजार घाइते बने । लाखौंलाख बेघर नागरिक आकाशको शरण थिए । तर लूटेराका लागि पाल, जस्ता, खाद्यान्न, चाउचाउका पोकासम्म पनि राज्यकोष दोहन गर्ने माध्यम बनिरहेको थियो । नाकाबन्दीमा देशै रोइरहेको थियो । इन्धन र खाद्यान्न नपाएर मानिसहरु छटपटाइरहेका थिए तर भ्रष्ट र कालाबजारीले कहिं छाडेनन् । नूनलाई सूनको मोल लिइ छाडे । सरकारी सरदारहरु तिनका मतियार बने । समयले विस्तारै मल्हम लगायो । नागरिक आफ्नो दैनिकीमा फर्किए । तर कसैमाथि पनि यो सारा प्रकरणमा संलग्न रहेकामा दण्डित गरिएन । दण्डहीनता मौलाइरह्यो ।
लाग्छ हामीले देश त सुन्दर पायौं । जीवनकालमा ३०/३५ वटा देश घुम्ने अवसर पाए । नेपाल जस्तो हावापानी, मौसम र दिल बोकेका जनता भएको देश संसारमै छैन भनेपनि हुन्छ । १२/१२ घन्टाको दिन र रात, ६/६ महिनाको चिसो तातो मौसमको मिलन पृथ्वीको भूखण्डमा कमै मात्र पाइन्छ । तर यो देश सम्हाल्ने इमान, आँट र दूरदृष्टि भएको नेतृत्व हामीले पाएनौं । पायौं त केबल अनेकन बहानावाजी बनाएर देश र जनतालाई लूटिखाने नवसरदारहरु !
कोठामा थुन्ने कोरोना, भुईंमा सुताउने भुईंचालो
कोरोनाले मै हुँ भन्ने शासक, धनाढ्यदेखि रुप, धन, प्रज्ञावान् वा गरीब असाध्य माग्ने सबैलाई कोठाभित्रै थुनिदिएको छ । सबैलाई त्रास छ जीवनको । कतै कोरोना मेरो काल बनेर नआओस् । मान्छेले सृजना र विकास गरेका विज्ञान, चिकित्सा, प्रविधि केहीले काम गरेको छैन । न कुनै औषधिको ओत, न कुनै खोपको खातिरदारी । संसार फाड्छु भन्नेहरु पनि कोठामा बन्दी जीवनमा छन् । मृत्युको भय छैन भन्नेहरुको ओठमुख सुकेको देखेको छु । नहोस् पनि किन ? दरबारदेखि गरीबको घरबारसम्म छाडेन भारइरसले । बेलायती युवराज चाल्र्स, प्रधानमन्त्री बोरिस जोन्सन संक्रमित भएका छन् भने स्पेनिस राजकुमारीले ज्यान नै गुमाइसकिन् । शक्ति, सम्पत्ति र सत्ताको घमण्ड र फुईं गर्नेहरु आज निरीह छन् । मान्छेले बनाएको गोला बारुद, बन्दुक र ट्यांकले रोक्नसक्ने भए शक्तिसम्पन्न राष्ट्रहरुका शासकले आफू र आफ्ना नागरिकलाई जोगाउन केसम्म गर्थे होलान्, कल्पना गरिरहेको छु । आफ्नो अहं र स्वार्थमा थोरै यताउता हुँदा त अनाहकमा लाखौं निहत्था मानिसको हत्या गर्न एक सेकेण्ड नरोकिने उनीहरु यो त्रासविरुद्ध त के गर्दैनन्थे होलान् ? तर प्रकृतिले एउटा यस्तो अदृश्य भाइरसरुपी हतियार प्रहार गरिन् कि मानिसका सबै अन्वेषण निकम्मा सावित भएका छन् ।
चार वर्षअघि भुईंचालोरुपी प्राकृतिक दण्ड ब्यहोरेका हामी अहिले चीनबाट संक्रामक बन्दै विश्वव्यापी यात्रामा रहेको कोरोनाको कहर काटिरहेका छौं । फरक यत्ति छ, भुईंचालोले घरभित्र बस्न दिएन । कोरोनाले घर छाड्न दिएन । भुईंचालोले चौरमा सुतायो, कोरानाले ओछ्यानमा ढलायो । चार वर्षअघि घर नछिर भन्नेहरु अहिले घर नछाड् भन्दै छन् । भुईंचालोका पीडामा संसारले सकेको सघाए । कोरोनामा आफै पिल्सिए । भुईंचालोले गरिखानेलाई रोकेन, कोरोनाले हुँदाखानेलाई पनि दिएन । भुईंचालोले मानिसबीचको दूरी घटायो, कोरोना मानिसबीचकै दूरी खोज्दैछ । एक दिशाबाट कोही आए अर्को दिशाको मानिस अलग्गिन्छ । पतिले पत्नीलाई, बाबुले छोरालाई, आमाले छोरीलाई आशंकाको नजर फ्याक्छ । कोही नयाँ अपरिचत व्यक्ति घरमा प्रवेश कल्पना मात्रै बन्दैछ । भुईंचालोमा पीडामा मल्हम लगाउने देखिए, कोरोनामा दिएकै पनि लिन तर्सिए । हो, यसमा एउटा समानता भने देखियो, देश र जनता लूटिखान मौकाको ताक खोज्नेहरु । सबै संकट र समस्या तिनलाई अवसर बनेर उपस्थित हुँदोरैछ ।
कोरोना भाइरस केही औपचारिक तथ्य र पक्ष
सन् २०१९ को डिसेम्बर चीनको हुबेई प्रान्तमा फेला परेको यो भाइरस यतिबेला संसारको कुना कुनामा पुगिसकेको छ । सबैजसो देश यसबाट प्रताडित छ । विज्ञान, प्रविधि, ज्ञान, बुद्धि विवेक केहीले पनि यसको कारण ठम्याउन सकेको छैन । निदानका उपाय फेला पार्न सकेको छैन । संसारभरका वैज्ञानिक औषधि र खोप पत्ता लगाउन भएभरको ज्ञान खर्चिएर जुटेका छन् । तर आजका दिनसम्म भरपर्दो न त औषधि न त खोप नै विकास गर्न सकेका छन् ।
यो क्षणसम्म आइपुग्दा संसारमा ८ लाख ६० हजारभन्दा बढी मानिस भाइरसबाट संक्रमित भैसकेका छन् । मृत्यु हुनेको आंकडा ४२ हजार नाघेको छ । उत्पत्तिस्थल चीनले भाइरसको संक्रमण नियन्त्रण गर्दैछ भने शुरुमा चिनियाँ भाइरस भन्दै खिस्याइरहेको अमेरिका नयाँ इपिसेन्टरका रुपमा विकास भएको छ । भाइरसका कारण बढी मानिसको मृत्यु अमेरिकामै हुनसक्ने चेतावनी दिइदै छ । भाइरसका कारण २ लाख ५० हजारसम्म मान्छे मर्नसक्ने स्वयं राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदैछन् । आफ्नो पेशा नै सूचना संकलन र प्रशारण भएकाले पनि यि सबै तथ्यसँग अद्यावधिक हुनु जरुरी छ । यस्ता खबरबाट टाढा रहौं भनेर पनि सम्भव छैन ।
हाम्रा शासक प्रशासकको निकम्मापन
हुनत नेपालमा यो भाइरसको संक्रमण त्यस्तो महामारीको रुपमा फैलिएको छैन । आजका मितिसम्म फेला परेका पाँच जना संक्रमितमा पनि एक जना पूर्ण निको भैसकेका छन् । सरकारले चैतको ११ गतेबाट देशभर लकडाउन अर्थात् बन्दाबन्दी गरेको छ । शुरुमा एक साताका लागि बन्दाबन्दी गरेको सरकारले फेरि अर्कोसाता अर्थात् २५ गतेसम्मका लागि लम्ब्याएको छ । सरकारी अधिकारीहरु यो अरु एक साता अझै लम्बिने बताउँदै छन् । २०७७ सालको नयाँ विहानीलाई हामी घरभित्रै बन्दाबन्दीको अवस्थामा स्वागत गर्नेछौं ।
डिसेम्बरमा चीनमा कोरोना भाइरसको पहिलो बिरामी फेला परेको एक महिना मै नेपालमा २४ जनवरी अर्थात् १० माघमा पहिलो बिरामी भेटियो । अहिलेसम्म भेटिएका सबै विदेशबाट नेपाल आएका व्यक्ति छन् । माघ १० मा पहिलो विरामी फेला परेपछि भाइरससँग लड्न जे जस्ता तयारी र स्वास्थ्य सामग्रीको जोहो गरिनु पर्दथ्यो सरकारले समयमै गरेन । हाई काढ्दै समय कटायो । ११ चैतमा बन्दाबन्दीको घोषणा गर्नुअघिको दुई महिना सरकारले पटक्कै वास्ता गरेन । देशी विदेशी विमानबाट सबै नेपाली र विदेशी यात्रुलाई आउन छुट दिइरह्यो । नेपाल भ्रमण वर्ष २०२० को नेतृत्व गरिरहेका मन्त्री योगेश भट्टराईले त नेपाल कोरानामुक्त देश भएकाले संसारभरका पर्यटकलाई नेपालमा आउन अपील नै गरे ।
जब भाइरसबाट संक्रमितको संख्या बढ्न थाल्यो सरकारले हठात् वाह्य र आन्तरिक हवाई सेवा, स्थल यातायातलाई बन्द गर्ने निर्णय लियो ।
मानिसहरुलाई घर बाहिर ननिस्कन आह्वान गर्दै देशव्यापी बन्दाबन्दीको घोषणा गर्यो । यतिञ्जेलमा संक्रमित देशबाट हजारौंका संख्यामा मानिस नेपाली सरहदभित्र प्रवेश गरिसकेका थिए । नेपाल–भारतको खुल्ला सीमाबाट आवतजावत गर्ने लाखौंको भीडलाई त बन्दाबन्दीले पनि रोक्न सकेन । यही बीचमा भारतले पनि नेपालले बन्दाबन्दीको घोषणा गरेको दिनको साँझ २४ मार्चका दिन भारतमा लकडाउन गर्ने निर्णय गर्यो । भारत सरकारको यो निर्णयले भारतमा मजदुरी गर्ने लाखौं नेपाली अत्तालिएर आफ्नै देशतर्फ लागे । सिमानामा लाखौंको क्याराभ्यान लाग्यो ।
सरकारले विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्न लगाएको नियम बाध्यकारी गराउन सकेन । सीमा काटेर आफ्नै माटोमा आएकाहरु आ–आफ्ना घरतर्फ लागे । यो क्रम लगातार बढ्न थाल्यो । सरकारले सीमा क्षेत्रमा कडाई त गर्यो तर यो सफल भएन । सरकार आफैले सीमामा अलपत्र परेका अरु केही हजार नागरिकलाई नेपाल प्रवेशको अनुमति दियो । तर पछिल्ला केही दिनमा सीमा क्षेत्रमा जम्मा भएका अरु हजारौं नेपालीलाई प्रवेश नदिने निर्णय गर्दै सरकारले भारतीय भूमिमै क्वारेन्टाइनमा राख्न भारत सरकारसँग आग्रह गर्यो । बदलामा नेपालमा रहेका भारतीय नागरिकलाई पनि नेपालले नै आश्रय दिने सहमति गरेको छ ।
चीनको हुबेई प्रान्त र भाइरस फैलिएको वुहान शहरलाई चीन सरकारले लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई फागुन ४ मा विमान नै चार्टड गरेर नेपाल ल्याएको सरकारले मजदुरी गर्न गएका सीमामा अलपत्र निरीह नागरिकलाई प्रवेश नदिएकामा सरकारको आलोचना भइरहेको छ । आलोचकहरु उनीहरुलाई देशमा आउन दिन र देशमै क्वारेन्टाइनमा राखेर रोगको परीक्षण गर्न भनिरहेका छन् । चीनको वुहानमा ९ जनवरी अर्थात् पुस २४ मा पहिलो मृत्युको घटना भएयता संसार नै आतंकित भएको छ । संसारमा एकखाले शरणार्थीको भेल आएको छ । कोही पनि कहिं सुरक्षित भएको भानमा छैन । सरकारहरुले लकडाउनको घोषणा त गर्दैछन् तर मानिसहरु आफै बसेको शहर असुरक्षित ठान्दै आन्तरिक शरणार्थीझै आफ्नै थातथलो र आफन्तको खोजीमा भौतारिरहेका छन् । यो क्रम पूर्वी जापानदेखि पश्चिम अमेरिका, दक्षिण अष्ट्रेलिया–न्यूजिल्याण्डदेखि उत्तर ब्रिटेनसम्म देखिएको छ । मानवविरुद्ध प्रकृतिले छेडेको यो युद्धले गर्ने विनाश र मानिसले ब्यहोर्नपर्ने कटूसत्य त के के हुन् थाहा पाउन त अझै कति दिन कुर्नेपर्ने हो ? लाग्छ प्रकृति मानिसको निकै ठूलो परीक्षा लिँदैछिन् ।
प्रतिक्रिया दिनुहोस्