
काठमाडौं, चैत्र १९ । कोरोनाभाइरसको जोखिमबाट आफ्ना नागरिकलाई जोगाउन भन्दै नेपाल सरकारले आफ्ना नागरिकको स्वदेश फर्कन पाउने हक हनन गर्न नमिल्ने अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ ।
भारत, खाडी देशहरू र मलेसियामा नेपाली आप्रवासी कामदारहरू कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै संस्थाले पर्याप्त क्वारन्टीनको व्यवस्थापन नहुँदा नेपालले आफ्ना नागरिकलाई स्वदेश फर्काउन खासै पहल नगरेको आरोप लगाएको छ ।
नेपालमा लकडाउनको अवस्था भएसँगै विदेशमा काम गरिरहेका तर रोजगारी गुमाएका नेपाली अलपत्र परेको ह्युमन राइट्स वाचको भनाइ छ । नागरिकको आवश्यकतालाई सम्बोधन नगरी घर फर्कनबाट प्रतिबन्ध लगाइनुले आधारभूत मानवअधिकारको उल्लंघन भएको पनि उसले जनाएको छ ।
नेपाल सरकारलाई आफ्ना नागरिकलाई तत्कालै घर फर्कन दिन र विदेशमा रहेका आफ्ना नागरिकको रक्षा गर्न उक्त संस्थाले आग्रह गरेको छ ।
महाकाली नदीपारि धार्चुलामा अलपत्र परेका ५ सय नेपाली र यूएईमा कार्यरत नेपाली आप्रवासीको चर्चा गर्दै संस्थाले भारतीय भूमिमा रहेका नेपाली श्रमिकलाई भारत सरकारले सहयोग नर्न लागेकामा स्वागत पनि गरेको छ ।
यूएईमा रहेका नेपाली ट्याक्सी चालकहरुको एउटा समूहले जागिर गुमाएको र पैसा नहुँदा साथीहरू र पार्कमा सुत्नु परेको बताएको पनि उसले उल्लेख गरेको छ ।
अरु देशहरुले नेपालबाट आफ्ना नागरिकको उद्धार गरेर लगिरहँदा सीमामा आइपुगेका नेपालीलाई देशभित्र छिर्न नदिएको सरकारको आलोचना भइरहेको छ ।
सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै डेढ सातायता अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको छ भने अघिल्लो साता नेपाल र भारतले सीमामार्फत् हुने आवतजावत पनि बन्द गर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्