
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तरी प्रतिशतभन्दा बढि नयाँ मतदाताहरू आफ्नो पार्टीको पक्षमा उभिने दाबी गर्नुभएको छ ।
महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाताहरू आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्कसमेत गर्नुभयो ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरूले ‘आई लभ यू केपी बा’ भन्ने गरेको बताउनुभयो ।
अब आउने स्थानीय निर्वाचनसहितका तीन वटै तहको निर्वाचनबाट आफ्नो पार्टीले सरकार बनाउने समेत महासचिव पोखरेलले दोहोर्याउनुभयो ।
महासचिव पोखरेलले सत्तारुढ कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको पनि बताउनुभयो । कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनाव लड्ने आँट गर्न नसकेको उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकीर गर्नुभयो ।
उहाँले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको तर्क गर्नुभयो ।
महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढि विधि र प्रक्रिया उल्लंघन गर्ने नेताको रूपमा माधवकुमार नेपाल रहेको टिप्पणी समेत गर्नुभयो ।
उहाँले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्