१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : महासंघ उपाध्यक्ष श्रेष्ठ


104
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको हो ।

उहाँले अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेट मार्फत गर्न सक्नुपर्ने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताउनुभयो ।

विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै केही बस्तुको आयात प्रतिबन्ध गरेको तर आयात प्रतिस्थापन गर्ने सरकारले केही कदम नचालेको श्रेष्ठको भनाइ छ । सरकारले मुलुकलाई आत्मनिर्भर बनाउने बताए पनि कुन वस्तु वा उत्पादनमा आत्मनिर्भर बन्ने स्पष्ट योजना नबनाएको उहाँले बताउनुभयो ।

कुनै पनि उद्योगहरू उत्पादनशील र अनुत्पादक भन्ने नहुने भन्दै उपाध्यक्ष श्रेष्ठले राज्यले त्यस्तो सोच्न नहुने बताउनुभयो । उहाँले सरकारले लिने भ्याटको दर घटाउनुमा जोड दिनुभयो । जनयुद्ध बेला राजश्व बढाउनुपर्ने भन्दै बढाएको ३ प्रतिशत भ्याट अब १० प्रतिशत बनाउनु पर्ने उहाँको माग छ ।

उपाध्यक्ष श्रेष्ठले राज्यले उद्योगलाई प्रोत्साहन गर्नुपर्ने कुरा दैनिक भने पनि गाउँ खाने कथा जस्तो भएको बताउनुभयो ।