१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुला


715
Shares

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गर्नुभयो ।

मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो ।

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जानकारी दिनुभएको छ ।

१०–१२, १–३ र ४–७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ ।

साधारणतर्फ टिकट दर २ सय तथा कम्तीमा १० जनाको समूहका लागि टिकट दर १ सय ५० तोकिएको छ ।

पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ ।

सदस्य–सचिव घिसिङले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिए ।