
काठमाडौं, चैत्र १९ । र्यापिड टेस्ट कीटको गुणस्तरबारे सार्वजनिक रुपमा प्रश्न उडेपछि स्वास्थ्य मन्त्रालय आफ्नो बचाउमा उत्रिएको छ ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेमबहादुर कार्कीले बुधबार निकालेको विज्ञप्तिमा सरकारले चीनबाट खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको उल्लेख छ ।
परिषद्ले प्रयोग गर्न योग्य भनि सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणि भएपछि मात्रै प्रयोगका लागि वितरण हुने पनि कार्कीले प्रष्ट्याएका छन् ।
चीनबाट किनिएको स्वास्थ्य उपकरण गुणस्तरहीन र आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेका सन्दर्भमा मन्त्रालयको प्रष्टीकरण आएको हो ।
मंगलबारको नियमित पत्रकार सम्मेलनमा र्यापिड टेस्ट कीटबारे सार्वजनिक गरिएको धारणालाई मन्त्रालयले खरिद गरेको ¥यापिङ टेस्ट कीटसँग जोडी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको दावी कार्कीले गरेका छन् ।
‘सरकारले ल्याएको र्यापिड टेस्टिङको गुणस्तर निक्र्यौल भएपछि मात्रै प्रयोग हुन्छ । अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो’, कार्कीको विज्ञप्तिमा भनिएको छ ।
चीनबाट ल्याइएको कीट चीन सरकारले प्रमाणित गरेको कीट भएको दावी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेस्ट कीट चीन सरकारले प्रमाणित गरेको कीट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले र्यापिड टेस्ट किट प्रयोग गरी स्क्रिनिङ गर्ने र शंकास्पदहरुको पीसीआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार पूर्व तयारी गर्न खोजिएको हो । अहिले युरोप अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् ।’
अहिले बजारमा अवैध ढंगले र्यापिड कीट भित्र्याई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासोका आधारमा मात्रै सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई कीटको प्रयोग नगर्न निर्देशन दिइएको कार्कीले निकालेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्