
काठमाडौं । भारतीय अभिनेत्री अमीषा पटेलविरुद्ध ठगीको उजुरी दर्ता भएको छ । एक कार्यक्रम आयोजक उनीविरुद्ध ठगीको आरोप लगाउदै प्रहरी समक्ष उजुरी दिएका हुन् ।
अमीषाले कार्यक्रमका लागि ठूलो पारिश्रमिक लिएकाे भए पनि थाेरै प्रस्तुती दिएर कार्यक्रम बीचमै छाडेर गएकाे भन्दे आयाेजकले प्रहरीमा उजुरी दिएकाे हाे ।
तर अभिनेत्री पटेलले भने उक्त आराेप नकारेकी छन् । ज्यानकाे खतरा देखेपछि आफू कार्यक्रम बीचमै छाेडेर हिँडेकाे दाबी गरेकी छन् । उनले स्थानीय प्रहरीलाई पनि धन्यवाद दिएकी छन् ।
‘२३ अप्रिलमा मध्यप्रदेशको खाण्डवामा भएको एक कार्यक्रममा प्रस्तुति दिनुपर्ने थियो, स्टार फ्ल्यास इन्टरटेनमेन्ट र अरविन्द पाण्डेले कार्यक्रमकाे व्यवस्थापन चुस्त गर्न सकेका थिएनन्,’ उनले सामाजिक सञ्जालभन लेखेकी छन्, ‘मैले त्यहाँ आफ्नो ज्यानको खतरा देखेँ, स्थानीय प्रहरीकाे मद्दतले म सुरक्षित गन्तव्यमा पुगेँ ।’
साथै अमीषाले कार्यक्रममा आफ्नाे कुनै प्रस्तुति नरहेकाे बताइन् । आफूलाई उपस्थित हुन मात्र भनिएकाे र प्रस्तुतिकाे विषयमा सम्झाैता नभएकाे उनले उल्लेख गरेकी छन् । त्यहाँ नराम्रो व्यवहार भएपछि आफू कार्यक्रमस्थलबाट बाहिरिएको उनकाे भनाइ छ ।
स्थानीय प्रहरीका अनुसार अमीषा कार्यक्रममा सहभागी भएकाे र तीन मिनेट प्रस्तुति दिएर बाहिरिएकी थिइन् ।
‘म त्यो दिन कार्यक्रममा उपस्थित थिएँ, अमीषा राति ९ बजेर ३० मा स्टेजमा पुगेकी थिइन्,’ एक प्रहरीले भारतीय समाचार संस्था टाइम्स नाउसँग भने, ‘उनले दर्शकहरूलाई अभिवादन गरिन्, कार्यक्रममा १ घण्टाकाे प्रस्तुति दिनुपर्ने भए पनि ३ मिनेटको प्रस्तुति दिएर त्यहाँबाट निस्किएकी थिइन् ।’
यसअघि पनि अमीषा कानूनी मुद्दामा फसेकी छन् । सन् २०१९ मा पनि उनी विरुद्ध ठगीको मुद्दा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्