
काठमाडौं । नेपाली कांग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गर्नुभएको छ ।
कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।
बुधबार पत्रकार सम्मेलनमार्फत उहाँले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिनुभयो । २०५९ सालदेखि कांग्रेसमा क्रियाशील तिम्सिना २०६२/०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बन्नुभएको थियो । उहाँ कांग्रेस नेता मनोज तिम्सिनाका भाइ हुनुहुन्छ ।
केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भाइ मुक्तिनाथले जिम्मेवारी छाडेको अनुमान गरिएको छ । पार्टीका उम्मेदवारले ‘हार्दा पनि जित्दा पनि’ दोष बोक्नुपर्ने अवस्था आएकाले जिम्मेवारी छाडेको बताए ।
तिम्सिनाले निर्माण गरेको माथिल्लो रावा खोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ । यसबाहेक बाख्रापालन, कालिज पालन, लोकल माछा पालनलगायतका कृषि कर्ममा लाग्नेगरी पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिकको रूपमा काम गर्ने तिम्सिनाले बताउनुभयो ।
चुनावका बेला कांग्रेसका पूर्वकोषाध्यक्ष जीवन राई र पूर्वजिल्ला सदस्य भुवन श्रेष्ठले पनि पार्टी परित्याग गरेका छन् । राईलाई एमालेले बराहपोखरी गाउँपालिका उपाध्यक्षमा उठाएको छ ।
प्रतिक्रिया दिनुहोस्