
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्रस्तावमा एमसीसी आएको दाबी गर्नुभएको छ ।
बुधबार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसीसी पास हुनु नेपालको लागि ऐतिहासिक र महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।
यस परियोजनाले नेपालमा गरिबी निवारण र रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने गृहमनत्री खाँणको विश्वास छ ।
उहाँले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने स्पष्ट पार्नुभयोे ।
पूर्ववर्ती सरकारले करिव ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको गृहमन्त्री खाँणको आरोप छ ।
एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताउनुभयो । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही गरिने प्रतिवद्धता जनाउनुभयो ।
खाँणले स्थानीय तह निर्वाचनमा कतै त्रुटी र कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताउनुभयो ।
गठबन्धनलाई नेपाली कांग्रेसको महाधिवेशनले पनि स्वीकार गरेको भन्दै उहाँले स्थानीय तहको निर्वाचनमा केन्द्रले गरेको निर्णयलाई स्वीकारेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्