२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अर्गेलीको माग उच्च निर्यात कम


637
Shares

इलाम । अर्गेलीको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएपनि सरकारले अर्गेली उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरणमा सहयोग नगर्दा किसान पुरानै प्रविधिमा निर्भर हुन बाध्य छन् ।

जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ संकलन हुन सकिरहेको छैन । जापानी नोट ‘येन’ को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ ।

इलामको इलाम नगरपालिका र सन्दकपूर गाउँपालिका भित्रका किसानले उत्पादित अर्गेली जापान निर्यात गर्दै आएका छन् । प्रशोधित अर्गेली प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री भइरहेको इलाम नगरपालिका–३ का किसान सन्तोस राईले बताउनुभयो ।

यस वर्ष पूवामझुवा क्षेत्रका किसानले २० टन अर्गेली संकलनबाट प्रशोधन गरि जापान निर्यात गर्ने लक्ष्य राखेका छन् । स्थानीयवासीको आय वृद्धिका लागि अर्गेलीलाई भरपर्दो माध्यमको रूपमा विकास गर्नुपर्ने माग रहेपनि सरकारी लगानी भने छैन ।

उच्चस्तरको प्रशोधित अर्गेलीको माग भएपनि मागबमोजिमको निर्यात योग्य बनाउन आधुनिक प्रविधिको अभाव छ । उद्योग क्षेत्रको विकासका लागि हरेक स्थानीय तहमा लघु उद्यम विकास कार्यक्रम संचालन भएपनि अर्गेली खेती र प्रशोधनबारे स्थानीय तहको ध्यान पुगेको छैन ।

रोपिएको अर्गेलीको बिरुवा तीन वर्षमा सकंलन गर्न मिल्छ । एक पटक संकलित अर्गेली पुनः पलाउने र तीन वर्षमा संकलन गर्न सकिने भएकाले लगानी धेरै हुँदैन । चिसो मौसम र हावापानी भएका स्थानमा खेर गइरहेको कान्ला र पाखो बारीमा लगाउन मिल्ने अर्गेलीको रोपण र प्रशोधनका लागि आधुनिक प्रविधि हस्तान्तरणको आवश्यकता रहेको किसानको माग छ ।

नेपालबाट हरेक वर्ष ६० टन अर्गेली जापान निर्यात हुने गरेको छ । राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषकमा अर्गेली विस्तार गर्ने आत्मविश्वास बढेपनि सरकारी उदासिनताले धेरै अर्गेली प्रशोधन उद्योग दर्ता भएका छैनन् । अर्गेली पहाडी भेगमा पाइने एक प्रकारको बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन पनि प्रयोग गरिन्छ ।