२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसले कारबाही गरेपछि मल्लले त्यागे सांसद पद


6.292k
Shares

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्याग्नुभएको छ ।

बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

‘राणा कालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौणका हाकिम हटाएझैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ,’ उहाँले भन्नुभयो, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन । आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु ।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट हुनुहुन्थ्यो ।

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो ।