
राजन कुईंकेल
पूर्वमहाराज ज्ञानेन्द्र शाहले कोरोना प्रभावितका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा मंगलबार १८ गते दुई करोड दान दिने घोषणा गरे । पूर्वमहाराजको यो घोषणा हिउँदमा रुखिएको खरबारीमा आगो सल्किएझै खबर बजारमा दनदनी फैलियो । महाराजका तर्फबाट दान दिने घोषणाको वक्तव्य इन्टरनेटको जालोमा के प्रवेश गरेको थियो । समाचार बनाएर प्रकाशन, प्रशारण गर्ने, सामाजिक सञ्जालमा तानातान गर्नेको पहिरो नै छुट्यो ।
सरकारले स्थापना गरेको कोषमा धन हुनेदेखि मन हुनेसम्मले सकेको दान दिइरहेका छन् । यसरी दान दिनेमा व्यापारी, उद्योगपति, ठूला महाजनदेखि सांसद, कर्मचारी, विभिन्न संघ संस्था छन् । कोषमा केही न केही दिउँ झै लागेर दिन नसकेकाहरु पनि उत्तिकै छन् । अझ पूर्वमहाराजले एक कदम अगाडी बढेर ब्याटिङ गरेको देखेर मन कुँढ्याउने नवधनकुबेर नेताहरु त कति छन् कति ? झन् त्यसमा पनि सामाजिक सञ्जालमा राजा भनेका राजै रैछन्, जनता संकट र समस्या परेका बेला दुःखमा सघाउन आए, खै ढुकुटी लुटेर नवधनाढ्य बनेका नेताहरु कहाँ लुके भनेर बर्सिएका बचन बाण सहनु कम्ति सारो छ ? तैपनि पचाउनु परेको छ । सर्वहारा वर्गबाट नवकुबेरमा परिणत भएका नेताहरुलाई ।
कोरोना भाइरसले संसारलाई आलस तालस पारिरहँदा जनतालाई गणतन्त्रसम्मको उपहार बक्सने नेताहरुको मन भने पूर्वराजा ज्ञानेन्द्रको यो कदमले कटक्क पारिदिएको छ । दिन त यसोउसो गर्यो काट्यो । रात त पटक्क सर्दै सर्दैन । यसो झकाउन खोज्यो झ्याप्प आँखै अगाडी नाच्न आइपुग्छ पूर्वराजाले दानबाट पाएको वाहवाहीको झल्को । करोडौंको महलमा बसेर, दुई/अढाई लाखको पलङमा सुतेरमात्र के हुँदो रहेछ र ? बालुवाटारमा सुते के, खुमलटारमै रहे के, कोटेश्वरको कुनामा रहे के, बुढानीलकण्ठ भगवानकै शरणमा भए के ? निन्द्रा नआइदिएपछि ? यता फर्क्यो, उता फर्क्यो, समय सर्दै सर्दैन, के गर्नु ? मसक्क आँटे, भोलि बिहानै पत्रकारलाई बोलाएर घोषणा गरिदिन्छु नाथे दुई होइन पाँच सात करोड नै । के म कम छु र ? मेरो पनि त कमाई छ नि । मलाई यो हैसियतमा पुर्याउने जनतालाई समस्या पर्दा म कसरी चुँप बस्न सक्छु । दशकौंसम्म राजनीतिमा मैले गरेको लगानी कम छ र ? म कसरी हेपिन सक्छु ? कसरी म यो वाहवाही परित्यज्य शासकले पाएको सहन सक्छु ? अठोट गरे । ल यही गर्छु । लामो श्वास लिन्छु । अलिक सन्तोष मिलेजस्तो हुन्छ । ओढ्ने तान्छु पल्टन्छु । कता कता फेरि तन्द्रा टुट्छ ।
पाँच करोड दानको घोषणा गरेको मात्र के थिए, खबर डँडेलो झै फैलिरहेको । सारा पत्रकार मेरा अघिल्तिर बुम तेस्र्याउँदै, माइक लिँदै, कलम र नोटबुक बोकेर मेरा प्रतिक्रिया लिन तम्सिएका । प्रश्न सोध्न हतारिएका । मन त्यसै त्यसै प्रफुल्ल भएर आयो । आहा कस्तो पवित्र काम गरेछु है । आफूले आफूलाई धन्य ठान्छु । सारा देशी विदेशी पत्रकारले घेरिरहेका छन् । लागिरहेछ गाउँ चहार्दा प्रयोग नभएर कुहिन तयार मालाले टाउकाको केशसम्म छोपेर स्वागत गर्ने जनताको जत्था झै, अगाडी मेरो बोलीको प्रतीक्षामा रहेका खबरजिवीहरु । यस्तो सोचेर मखमल बनेको मेरो मन एकाएक आएको एउटा कर्कश प्रश्नले अत्तालिन्छ । के सोचे मैले के भयो अहिले झै पो हुन खोज्दैछु म । हँ, के प्रश्न गर्दैछन् यि पत्रकार ? ‘अध्यक्षज्यू तपाईंले घोषणा गरेको यो पाँच करोड दानको स्रोत के हो ? जनतालाई बताउनुस् ? कहाँबाट कमाउनु भयो यत्रो रकम ? के हो आयस्रोत ? कुन उद्यम व्यवसाय हो यो पाँच/पाँच करोड दान दिनसक्ने हैसियत बनाउने ?’
अर्को च्याँठिन्छ, ‘हजारौं हजार जनता मारेर सत्ता र शक्तिमा पुगेपछि को कोसँगको अवैध साँठगाँठले अकूत सम्पत्ति थुपारेर धनकुबेर बन्नु भएको हो लौ बताउनुस् ?’ अर्को कुटौलाझैको भावमा कुर्लन्छ, ‘ए सर्वहारा क्रान्तिबाट नेता बन्नेहरुको धन्धा त यस्तो पो ? पाँच पाँच करोड दान गर्ने हैसियत के हो ? कुन दिनदेखि यस्तो नाफा कमाउने व्यापार थाल्नुभो ? जनता सिटामोलको गोली र जीवनजलको पोका नपाएर मर्ने तपाईहरु धनकुबेर बनेर सोस्ने ?’
अर्को कूटील हाँसो फ्याक्दै बोल्छ, ‘के नेता भनेको जोगी हुन हो र, साथि हो ? कुनचाहिँ दलका नेता गरीब छन् ? माग्ने गरीब नेताले देश धनी बनाउन सक्छ ? देश धनी त नेता धनी भएपछि पो हुन्छ ? पहिले आफु सम्मृद्ध बन्ने, त्यसपछि आफ्ना परिवार, आसेपासे, आफन्त, गूटका गोटी कार्यकर्ता धनी बनाएपछि देश र जनता त त्यसै समृद्ध भैहाल्छन् नि ? उसै ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा भट्टयाइएको हो र ?’
अर्को किलकिले समात्छ, ‘के भनेको हो साथि हो, घरमा श्रीमती कचकच गर्छिन्, कार्यकर्ता नकिने पार्टी सत्ता कब्जा हुन्न । घर आफ्नो नबनाई राजनीति टिक्दैन । श्रीमतीका रवाफ सम्हाल्न, सन्तानलाई देशीविदेशी उच्च शिक्षालयमा शिक्षा दिन, जनताका छोराछोरीलाई सडकमा उफार्न, सार्वजनिक सम्पत्ति तोडफोड गर्न, सत्ता टिकाउन, ढाल्न, कहाँ चाहिन्न पैसा ? दिन रंगीन बनाउन साँझ मधूमयी बनाउन, पैसा नभई के त्यसै सकिन्छ ? आदर्श र नारा त जनता बेबकूफ बनाउने मन्त्र पो त हैन र नेताजी ?’
कसरी मुटुमै किलो गड्ने गरी व्यंग्य कसेको हो, यिनले ? होइन मेरा अघिल्तिरका यो भीड कसरी एकाएक भैरव अर्याल बने हँ ? बडा भित्तामै पुर्याउने पो भए त हँ ? क्या दशा लागेर के के न धनकुबेर बन्ने देखाउन जान्ने भएर पाँच करोड दानको घोषणा गर्न पुगेछु । यो रकम घोषणा गर्ने बेला पनि श्रीमतीले त भनेकै थिई, ‘कत्रो दुःख गरेर मैले जोडेको सम्पत्ति यत्तिकै स्वाहा बनाएर उडाउने भयौं हैन ? कत्ति न दानवीर बन्नु परेको ?’ आफैलाई गाला चड्काउँ, चड्काउँ लाग्यो ।
अर्को मन लाग्दैथ्यो, होइन हो तिमीहरुलाई मेरो पैसो कहाँबाट आयो, किन चाहियो स्रोत ? आँप खाउ न आँप । रुखको चासो किन हँ ? बिरालो कालो भए के सेतो भए के ? काम मुसा मार्नु होइन ? तिमलाई यो संकटमा सहायता कोषमा दान चाहिएको कि ? दान दिएको रकम कहाँबाट आयो भन्ने निन्दा ? हैन यो पत्रकारले कुनै काम धन्दा केही पाउँदैन् कि क्या ? अर्काकै निन्दा, चियो मात्र ? यत्रो रकम दान घोषणा गरेको छु, वाह नेताजी क्या राम्रो काम गर्नुभयो भनेर प्रशंसा गर्लान् भनेको त उल्टै स्रोतको लन्डो पो बोकेर आएका छन् हैट ! उसै यिनका मुख र कलम साइजमा राख्न कानुनबाटै ठेगान लाउन खोज्नु परेको हो र ? राम्रा कुरा त लेख्नै नसक्ने, देखाउनै नसक्ने, भन्नै नसक्ने । मुटु नभएकाहरु !
रीसले पारो चढ्यो, ‘लौ सुन, मेरो दान रकमको स्रोत, देशको विकास निर्माणका क्रममा गरिने ठूला ठूला टेण्डर, मेलम्ची खानेपानी जस्ता ठूला खानेपानी, जलस्रोत, बिजुली, सडक निर्माण परियोजना, राष्ट्रिय गौरवका परियोजना, त्यति मात्र हो र संसारभरका पर्यटक भित्र्याउन भनेर ठूला/साना जिउका विमान किन्दा आउने कमिशनको पहिलो भोगदाता मै हुँ । देशमा गरिने ठूला जग्गा प्लटिङदेखि बेनामी सुन आयातका धन्दामा लागेकालाई जोगाउँदा मिल्ने नजराना, देशमा रोजगारी दिन नसकेर के भो त विदेशमा जोखिम श्रममा पठाउँदा मानव दलालबाट मिल्ने नजराना, शिक्षा–स्वास्थ्य जस्ता आधारभूत सेवामा लागेका निजी उद्यमीका अफ्ठ्यारा सुल्झाउँदा मिल्ने सेवा शुल्क, राज्य तहमा नीतिगत रुपमा उद्योगी व्यापारीका पक्षमा निर्णय गर्दा मिल्ने अतिरिक्त लाभ । कति सुनाउँ मेरो सम्पत्तिको स्रोत ? अब पुग्यो कि अरु पनि चाहियो ?
बेस्सरी चिच्याए । ओहो म त निन्द्रैमा पो बर्बराइरहेको रहेछु । मेरा आवाजले मलाई पहरा दिन बसेको सुरक्षाकर्मी नै पो तर्सेछन् ? के भो हजुर भनेर पो सतर्क छन् । भो यस्तो हैरानी सहेर कसरी दिनु त मैले अब सरकारी कोषमा दान ? दिउँन् तिनै महाराजले उनले जति दिए पनि सुहाउने । कसैले स्रोत नखोज्ने । हुनेको चालै भिन्दै हुँदो रैछ । खाको लाको पनि सुहाउनै पर्ने रेछ । आफ्नै सम्पत्ति दिएर आफै दशथरी लन्ठो किन बेसाउनु हो ?
कोरोना होस् कि सोरोना होस् । म जोगिई हाल्छु । मलाई भाइरस त के संसारका नामी मदिरालयमा निर्मित फलफूलका रसले त लडाउन सकेको छैन । संसार ठप्प होस् कि जे होस् । देशका स्वास्थ्य संरचना निकम्मा भएर मलाई के फरक ? खोकी लाग्द्या, हाच्छियुँ लाग्दा संसारका नामी अस्पतालमा उपचार राज्यले गर्दिई हाल्छ । राज्यले नगरे मेरा प्रिय व्यापारी, व्यवसायीहरु छँदै छन् । मेरा लागि लकडाउन न सकडाउन के फरक पर्छ ? भो दान दातव्यतिर लागेर नदुखेको टाउको जबरजस्ती दुखाउने पक्षमा लागिन । नेताजी शान्त देखिए ।
प्रतिक्रिया दिनुहोस्