१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल


247
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारहरुलाई उम्मेदारी फिर्ता लिन अपिल गरेको छ । बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ती जारी गर्दै गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न आग्रह गर्नुभएको हो ।

उहाँले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउन उद्त शक्तिविरुद्ध गठबन्धन भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह पनि गर्नुभएको छ । विनम्रतापूर्वक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको र फिर्ता नलिए कारबाही गर्ने बानियाँले जनाउनुभएको छ ।

मकवानपुरका विभिन्न पालिकामा गठबन्धन गर्ने निर्णय प्रदेश तहबाट भएर भागबण्डा टुंगिए पनि वडास्तरमा भने दलहरूले आ(आफ्नो उम्मेदवार उठाएका छन् ।

मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भए पनि कैलाश, मनहरी, राक्सिराङ, ईन्द्रसरोबर र बकैया गाउँपालिकामा गठबन्धनको तालमेल विपरित उम्मेदवारी दर्ता भएको छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, बागमती गाउँपालिकामा भने गठबन्धनमा भएको तालमेलअनुसार नै उम्मेदवारी दर्ता गरिएको छ । तर, वडास्तरमा भने तालमेल हुन सकेको छैन ।

हेटौंडा उपमहानगरपालिका(२ मा नेपाली कांग्रेसका नेता सुदीप राजबाहकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । २०७४ सालको निर्वाचनमा २ नम्बर वडामा कांग्रेसबाट जित्ने राजबाहक एक्ला जनप्रतिनिधि हुनुहुन्छ ।

यसपटक अध्यक्षको लागि दाबी गरे पनि पार्टीले टिकट नदिएपछि उहाँले बागी उम्मेदवारी दिनुभएको थियो । ‘म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन्न, ’ राजबाहकले भन्नुभयो, ‘मेरो पक्षमा युवाहरू छन् । तर, पार्टीले मेरो कुरा सुनेन । म जितेर देखाइदिन्छु ।’