१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


म्याग्दीमा दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात


0
Shares

म्याग्दी, चैत २० । हिमाली जिल्ला म्याग्दीमा दुई महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात रहेको छ । विभिन्न उद्योगका आधिकारिक बिक्रेतासँग मौज्दात रहेको खाद्यान्नले जिल्लावासीलाई दुई महिना पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको अवधिमा पनि ग्रामीण क्षेत्रमा खाद्यान्न आपूर्ति भैरहेको सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

“डिलरहरु कहाँ स्टक सामानले करिब दुई महिना पुग्छ,” उनले भने, “उपभोक्ताले पनि डेढ÷दुई महिनालाई पुग्ने खाद्यान्न जोहो गरेका पाइन्छ । गाउँमा धान, कोदो छ । गहुँ, जौ भित्र्याउने बेला भएकाले भोकमरीको अवस्था हुदैन् ।

” बेनीका चामल डिलरसँग १० हजार २९३ बोरा, नुन ५४३ बोरा, खानेतेल एक हजार ६१७ कार्टुन, २८८ बोरा दाल, ५२५ बोरा चिनी, ८ हजार लिटर पेट्रोल, तीस हजार लिटर डिजेल र तीन हजार लिटर मट्टितेल मौज्दात रहेको सङ्घका महासचिव लीलाराम गौतमले बताए ।

विपन्नलाई वितरण गर्न रघुगंगा गाउँपालिकाले २५० बोरा, अन्नपूर्णले २००, धवलागिरीले २०० र मालिकाले १५० बोरा चामल खरीद गरेर राखेको जनाएका छन् । खाद्यान्न पसल र ढुवानीमा लकडाउनको प्रभाव नपरेपनि उद्योगमा कर्मचारीले कोरोनाको त्रासले काम गर्न छाडेकाले उत्पादनसँगै बजारमा आपूर्ति भने घटेको छ ।

“म्याग्दीमा नुन र तेलको मौज्दात कम देखिएकाले सम्बन्धित डिलरमार्फत आपूर्तिका लागि माग गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने,

“ग्रामिण क्षेत्रमा ग्याँस प्रयोगलाई निरुत्साहित र राहत वितरणमा सम्भव भएसम्म स्थानीय खाद्यान्नलाई प्राथमिकता दिने नीति लिएका छौँ ।”

बेनीमा बुधबार म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा जनप्रतिनिधि, प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह र व्यापारीबीच जिल्लामा खाद्यान्न मौज्दात र आपूर्तिका  सम्बन्धमा छलफल भएको थियो ।

सहभागीले बजारमा नुन, तेल र ग्यासको अभाव हुनुका साथै खाद्यान्न पदार्थको मूल्यसमेत बढेको पाइएकाले त्यसलाई नियमन गर्नुपर्ने बताएका थिए ।

डिलरहरुले तेल र ग्याँस उद्योगका मजदुरले कोरोनाको त्रासका कारण काम नगरेकाले उत्पादन नभएर आयात हुन नसकेको बताएका छन् । गहुँ, उवालगायत हिउँदे बालीमा माथिल्लो क्षेत्रमा हिमपात र असिनाले असर गरेकाले उत्पादन घट्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस