२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


गठबन्धन र विपक्षी दललाई निर्वाचनमा आफ्नो साख जोगाउन ठूलाे चुनौती


156
Shares

भोजपुर । भोजपुरमा यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आफ्नो साख जोगाउन ठूलाे चुनौती भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, बहालवाला र पूर्वमन्त्री समेत रहेको साे जिल्लामा आफ्नाे साख जोगाउन दलहरुलाई धौधौ परेको छ । आसन्न निर्वाचनमा कुन दलका उम्मेदवारकाे पल्ला भारी हुने हो । त्यसको परिणाम आउन भने अझै दुई साता लाग्ने छ ।

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोजपुरमा सत्ता गठबन्धन र विपक्षी दललाई आफ्नो साख जोगाउन चुनौतीपूर्ण छ । गठबन्धन दल जसरी भएपनि चुनाव जित्नुपर्छ भनेर लागि परेको छ भने एमालेलाई आफ्नो साख जोगाउन चुनाव जित्नै पर्ने दवाव छ । २०७४ को निर्वाचनमा कांग्रेस, एमालेले बराबरी पालिकामा जित हासिल गर्दा समन्वय समिति गठनमा माओवादी निर्णायक बनेको थियो । अहिले चारदल एकातिर एमाले अर्कोतिर छ ।

यसबीच गठबन्धन दलले भोजपुर नगरपालिकामा साझा उम्मेदवारी दिएको छ भने एमालेले पनि एकल उम्मेदवारको मनोनयन दर्ता गरेको छ । जिल्लाभरीका स्थानीय तहमा गठबन्धनले पार्टी प्रभाव र उम्मेदवारको प्रभाव र पँहुचका आधारमा आधारमा भागबण्डा गरेको हो । जिल्लाभरीका स्थानीय तह र ८१ वटै वडामा उम्मेदवारी दिएको नेकपा एमालेले चुनाव जित्न विभिन्न रणनीति अपनाएको छ ।

गठबन्धनलाई विजयी गराउन पार्टी नेतृत्व विशेष योजना बनाएर अगाडि बढेको छ । जिल्लाका ९ पालिका र ८१ वडामा भागबण्डाको माध्यमबाट गठबन्धनलाई पूर्णता दिइएको छ । उम्मेदवारले चुनाव जितेमा कांग्रेस जिल्लामा पहिलो पार्टी हुनेछ। पहिलो कार्यकालमा नगरको विकासका लागि धेरै काम गरेको र बाँकी रहेको कामसँगै आफूले तय गरेको गुरुयोजना अनुसार काम पूरा गरी नगरपालिकालाई थप समुद्ध, समुन्नत बनाउन आफ्नो उम्मेदवारी रहेको भोजपुर नगरपालिकाका मेयरका प्रत्यासी कैलाशकुमार आलेको भनाइ छ ।

त्यस्तै सबै स्थानीय तहमा आफ्नो उपस्थिति प्रभावकारी बनाई निर्वाचनपछि दोश्रो ठूलो दल हुने दावी माओवादी केन्द्रले गरेको छ । यता, विप्लप नेतृत्वको नेकपा क्रान्तिकारी पार्टीले भने राम्रो उम्मेदवार भए स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने नभए चुनावमा सहभागी नहुने बताएको छ । पछिल्लो समय संघीयताको कार्यान्वयन भएसँगै स्थानीय तहमा उम्मेदवारका आकांक्षीको संख्या बढेको छ । जिल्लामा ९ वटा स्थानीय तहको प्रमुखमा ३९ जना र उपप्रमुखमा २७ जनाको मनोनयन दर्ता भएको छ । त्यस्तै ८१ वटा वडाको अध्यक्षका लागि २४५ जना, ४२० सदस्य, १९९ महिला तथा दलित सदस्य गरी जम्मा १ हजार १ सय ४० जनाले मनोनयन दर्ता गरेका छन् ।

१ लाख २५ हजार ९ सय २६ कुल मतदाता रहेको जिल्लामा ६० हजार ७ सय महिला र ६५ हजार २ सय पुरुष मतदाता रहेका छन् ।