२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोलुखुम्बुका सात पत्रकार चुनावी मैदानमा


208
Shares

सोलुखुम्बु । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका सात पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका दुई जना उपाध्यक्षमध्ये विना राई नेचासल्यान गाउँपालिकाको उपाध्यक्ष र भोजराज कार्कीले थुलुङदूधकोशी गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । राई नेपाली कांग्रेसबाट र कार्की माओवादी केन्द्रकोतर्फबाट उम्मेदवार भएका छन् ।

त्यस्तै, नेपाल पत्रकार महासंघ सोलुखुम्बुका संघीय परिषद प्रतिनिधि मनोकुमार श्रेष्ठले सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष र सुजता तामाङले वडा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । दुवैजनाले नेकपा एमालेबाट उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, शिखर पोष्टका प्रधानसम्पादक समेत रहनुभएका प्रकाश खालिङले माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहनुभएको छ । उहाँले माओवादीकोतर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

रहस्य साप्ताहिकमा कार्यरत डिल्ली शर्मा नेचासल्यान गाउँपालिका वडा नम्बर ३ को वडा सदस्य पदमा एमालेबाट उम्मेदवार बन्नुभएको छ ।