
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् ।
मेयरमा बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन फिर्ता लिएका हुन् ।
सापकोटाले आफूले केही दिन सांकेतिक विद्रोह गरेको तर आफ्ना कारणले राष्ट्रको स्थिति असहज हुने देखेर मनोनय फिर्ता लिएको बताउनुभयो । तिवारीले पनि कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरुको दायित्व भएको बताउनुभयो । पोखरा महानगरमा सत्तारुढ गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
तर, पोखरा महानगरमा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने भएको हो ।
वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनमा रहेका दलको बैठकमा सहमति हुन नसकेपछि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने समझदारी गरेको बताइएको छ । पोखरा महानगरपालिकामा ३३ वटा वडा छन् । सत्तारुढ दलहरुबीच मेयर एकीकृत समाजवादीले पाउने र उपमेयर कांग्रेसले पाउने सहमति भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्