१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फेरिँदै चुनावी प्रचार शैली : शहर होइन मोबाइलका भित्तामा देखिन्छन् पोस्टर


468
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब दुई साता मात्रै बाँँकी छ । तर विगतका चुनावहरूमा जस्तो भद्दा प्रचारप्रसार भने यसपटक रोकिएको अनुभूति उपत्यकावासीले गरेका छन् ।

विगतका चुनावहरूमा यतिबेला उपत्यकाका सार्वजनिक स्थल, पार्टी पौवादेखि सडकका भित्ता र आकाशे पूलहरू उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्डले भरिभराउ भइसक्थे । यस पटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका कारण उपत्यका थप कुरुप हुनबाट अहिलेसम्म जोगिएको छ ।

विगतका चुनावी महिनाहरूमा उपत्यकाको बागबजार, सडक चूनावी प्रचारप्रसारका सामाग्रीहरूले आकाशै छोप्ने गरी रङ्गीचङ्गी भइसकेका हुन्थे । तर, अहिले अवस्था विल्कुलै फरक छ ।

बैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भएपछि भने प्रचारप्रसारका सामाग्रीहरू छाप्ने अर्डर आए पनि विगतका चुनावहरूमा जस्तो भ्याइनभ्याइको अवस्था भने नरहेको व्यापारीहरू बताउँछन् ।

एकातर्फ कठोर आचारसंहिताका कारण ठूला ब्यानर र पर्चापोस्टरको व्यापार खस्किएको हो भने अर्कोतर्फ प्रचार सामाग्रीहरूको मूल्यवृद्धि र गठबन्धनका कारण पनि माग कम आएको हुनसक्ने उनीहरूको भनाइ छ । चुनाव नजिकिएसँगै प्रचार सामग्री छाप्न भ्याइनभ्याइ हुने यस क्षेत्रका पसलहरूमा अहिले ग्राहक आकलझुक्कल मात्र देखिन्छन् ।

यसले निर्वाचन आयोगले लागू गरेको आचारसंहिताले राम्रैसँग पालना भइरहेको पुष्टि गरेको छ । उम्मेदवारहरू आजकल पोस्टर र ब्यानरभन्दा पनि सामाजिक सञ्जालबाट आफ्ना एजेण्डा सुनाउन सक्रिय देखिएका छन् । यसले चुनावको प्रचार शैली फेरिँदै गएको अनुभूति गराएको छ ।