
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरीत निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल सांस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर अन्य नागरिकले नमिल्ने भन्ने खालको निर्वाचन आचारसंहिता करेक्सन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले निर्वाचनमा फजुल खर्च नगर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन पनि पार्टीका स्थानीय तहका उम्मेदवारहरूलाई सचेत गराउनुभयो ।
महामन्त्री शर्माले निर्वाचनमा बेला झुटा आश्वासन बाँडेर नहिँड्न पनि पार्टीका उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । झुटा सपना निर्वाचनको बेला देखाउने तर पछि त्यसलाई पूरा गर्न सकिएन भने जनतामा निराशा छाउने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्