५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


हेटौंडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता


13
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो ।

पाँच दलीय सत्ता गठबन्धनमध्ये जसपा नेपालले मेयर र उपमेयर दुबैमा उम्मेदवारी दिएको थियो । जसपाले उम्मेदवारी दिएपछि हेटौंडामा गठबन्धन तोडिएको भन्ने चर्चा चल्न थालेको थियो । हेटौंडाको मेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका दीपा लामाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

त्यसैगरी नेपालका लागि नेपाली पार्टीका सुकुन्द प्रसाद आचार्य र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै हेटौंडाको उपमेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका हरिहर खतिवडा र नेकपा एकीकृत समाजवादीकी मखकुमारी तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

हेटौंडामा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १८ जना वडा अध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी महिला सदस्य पदका उम्मेदवार ५ जना, दलित महिला सदस्य पदका उम्मेदवार ६ जना र खुल्ला सदस्य पदका १५ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको शर्माले बताउनुभयो ।