१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१२ हजार स्वतन्त्र उम्मेदवारलाई २७ थरीका निर्वाचन चिन्ह वितरण


130
Shares

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई आज निर्वाचन चिह्न दिएको छ ।

स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै दलको चिह्न पाएका छन् भने स्वतन्त्र उम्मेदवारले आयोगले तय गरेको चिह्न पाएका छन् । आँपदेखि भुइँकटहर, लौरो, भ्यागुतो र कैंची चिन्ह बोकेर स्वतन्त्र उम्मेदवार मैदान उत्रिएका छन् ।

काठमाडौ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहले लौरो चुनाव चिन्ह लौरो पाउँदा सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले भुइँकटहर चिन्ह पाउनुभएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्न पाउँदा मोरङको विराटनगर महानगरका मेयर र उपमेयरका बागी उम्मेदवार उमेश यादव र नमिता न्यौपानेले लालटिन चिन्ह पाएका छन् ।

कास्कीको पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार अटेरी समूहका गनेश पौडेलले लौरो चिन्ह पाउँदा तनहुँको व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले कैँची चुनाव चिह्न पाउनुभएको छ ।

शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि निर्वाचन आयोगले शनिबार उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची छ । त्यही सूची अनुसार जिल्ला निर्वाचन कार्यालय हुँदै पालिका निर्वाचन कार्यालयले उम्मेदवारलाई चिह्न वितरण गरेको हो ।

आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि भ्यागुतो, गुलावको फूल, भँुइकटहरदेखि खसीको टाउको जस्ता निर्वाचन चिह्न वितरण गरेको छ । बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कंगारुदेखि बँदेलसम्मका जनावर, काग, चील, हाँसजस्ता पन्छीदेखि आँप, भुइँकटहर र केराजस्ता फलफूल तथा गुलाबको फूल चुनाव चिह्न आयोगले तय गरेको थियो ।

त्यस्तै, भ्यागुतो, लाल्टिन, मुढा, घण्टाघर, ग्यास सिलिन्डर, प्रेसर कुकर, चुलेसी र कपप्लेटजस्ता घरायसी प्रयोगमा आउने सामग्री पनि निर्वाचन चिह्नका रूपमा राखेको र तिनै चिह्नहरू स्वतन्त्र उम्मेदवारलाई वितरण गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तह निर्वाचनका लागि देशभरि विभिन्न पदमा मनोनयन दर्ता गरेको साढे एक लाख उम्मेदवारमध्ये १२ हजार ७ सय ८९ स्वतन्त्र उम्मेदवार छन् ।

निर्वाचन आयोगले यसपटकदेखि आयोगमा दर्ता भएका सम्पूर्ण दललाई उनीहरूकै चुनाव चिन्हको आधारमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरेको छ । यसअघि राष्ट्रिय मान्यताप्राप्त दलहरूले मात्र आफ्नो निर्वाचन चिन्हमा चुनाव लड्थे । बाँकी दलहरूलाई निर्वाचन आयोगले तोकिदिने गरेको थियो ।