१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा एमालेकाे घोषणापत्र : मोनो र मेट्रोरेललाई निरन्तरता, सुरुङ र ओभरहेड ब्रिज पनि थपिए


338
Shares

पोखरा । पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापा र उपमेयरकी प्रत्याशी मञ्जुदेवी गुरूङले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको उपस्थितिमा उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा मोनोरेल र मेट्रोरेललाई पुनः निरन्तरता दिइएको छ । यसअघिको चुनावमा समेत एमालेको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरिएको थियो ।

शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ । फ्लाइ ओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।

पोखरा विकास प्राधिकरणमार्फत पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजनालाई समावेश गरिएको छ । घोषणा पत्रमा फेवातालसहित पोखराका नौवटै तालको संरक्षण, सेती नदी किनारमा पदमार्ग निर्माण लगायतका योजना रहेको छ ।

चुनावी घोषणा पत्रमा एमालेले विभिन्न ६ वटा संकल्प गरेको छ । जसमा एमालेका जनप्रतिनिधि शासक नभई सेवक हुने, जनप्रतिनिधि सामाजिक जागरण र विकासका अभिन्यता हुने र सुशासनमा नमूना बन्ने उल्लेख छ ।

यस्तै, जनप्रतिनिधि सदाचारका दृष्टान्त स्थापित गर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने समेत एमालेले घोषणा पत्रमा उल्लेख गरेको छ ।

उम्मेदवार परिचय तथा बृहत् कार्यकर्ता भेलामा मेयरका प्रत्यासी कृष्ण थापाले आफू निर्वाचित भएपछि पाउने सेवासुविधा गरिबको सेवा र विकासका काममा लगाउने प्रतिबद्धता गर्नुभयो । उहाँले यो चुनाव नै आफ्नो अन्तिम हुने र अब कुनै चुनाव नलड्ने घोषणासमेत गर्नुभयो ।