
काठमाडौं । नेपालको हवाई यातायातमा एकैपटक दुईवटा सुःखद खबर प्रवाहित भएका छन् ।
काठमाडौंमा रहेको मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको चिनारी अब भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले तोडेको छ भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले खाडी मुलुकमा सेवा विस्तार गरेको छ ।
रोजगारीको सिलसिलामा विदेशिन बाध्य लाखौं नेपालीले खाडी मुुुलुकदेखि युरोप, अमेरिकासम्मको यात्रामा विदेशी विमान कम्पनीको भरपर्नुपर्ने अवस्था छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवन्नतिका कारण महंगो मूल्यमा आवतजावत गर्नुपर्ने बाध्यात्मक परिस्थिति उनीहरूलाई छ ।
त्यसमाथि विदेशी भाषा बुझ्नेहरूको संख्या कम हुँदा यात्रा चुनौतीपूर्ण बन्दै आएको थियो । दशकौंपछि भए पनि नेपाल वायु सेवा निगमले सीधा हवाई उडान सञ्चालनमा ल्याएपछि खाडी जावतजावत गर्ने लाखौं श्रमिकले राहत महसूस गरेका छन् ।
विदेशी विमानमा भन्दा आफ्नै देशको विमानमा उल्लेख्य सेवा सुविधा रहेको उनीहरूको अनुभव छ । बजेट एयरलाइन्सका नाममा सञ्चालित विदेशी हवाई कम्पनीहरूबाट दशकौंदेखि नेपाली श्रमिक ठगिँदै आएका थिए ।
रोजगारीको सिलसिलामा २२ वर्षदेखि साउदीमा रहेका बाराका पवन गुन्जन पहिलो पटक आफ्नै देशको विमानबाट स्वदेश फर्कदाँको अनुभव शब्दमा बयान गर्न असम्भव भएको बताउँछन् । उनी हवाई यातायातलाई थप गुणस्तरीय बनाउन सुझाव दिन्छन् ।
ध्वजाबाहक विमान, नेपाली खाना अनि विमानभित्र बोलिने नेपालीपनले यात्रुको मन छुँदो रहेछ । विगतका दिनहरूमा विदेशी विमानबाट परदेशिने उनीहरू विमानभित्र नेपाली पन, नेपाली मन पाउँदा खुसीले नाचगान नै गर्दा रहेछन् ।
लामो संघर्षपछि साउदीको रियादसम्म यात्रा विस्तार गरेको निगम निकट भविष्यमै साउदीकै दमाम जेद्दादेखि अन्य व्यापारिक शहरमा थप हवाई सेवा बढाउने निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारी बताउँछन् ।
नेपाली श्रमिकहरूको बाक्लो संख्या रहेको साउदीमा नेपाल वायु सेवाले सेवा दिनु हवाई यातायातकै क्षेत्रमा बहुआयामिक उपलब्धी हो । यसले नेपाली पैसा विदेशिन कम हुने त छँदैछ, देशको हवाई सेवा विस्तारको समाचार कुन नेपालीका लागि सुखद नहोला र ?
प्रतिक्रिया दिनुहोस्