
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको बताउनुभएको हो ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले आवश्यक्तानै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन पनि सबैलाई आह्वान गर्नुभयो ।
अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणापत्र र स्थानीय तहको प्रतिवद्धतापत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको पनि पटकपटक दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्