
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीसँगको विवादका बारेमा अखिल नेपाल फुटबल संघ, एन्फालाई पत्र लेख्दै उनीहरुलाई कारवाही नगर्न आग्रह गरेका छन् ।
महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा अलमुताइरीले खेलाडीले खबर नगरी शिविर छाडेको उल्लेख गरेका छन् । राष्ट्रिय टोलीका सिनियर १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले आफुहरुलाई क्याम्प छाड्न निर्देशन दिएको आरोप लगाएका थिए ।
खेलाडीलाई मिडियामा नजान र आफू पनि नजाने बताए पनि खेलाडीले गरेको पत्रकार सम्मेलनले आफू निकै दुःखी भएको बताएका छन् । खेलाडीले गल्ती गरे पनि उनीहरुलाई कारबाही नगर्नु भन्ने आशयको पत्र लेखेको महासचिव तुलाधरले जानकारी दिएका छन् ।
आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा काम गर्न इच्छुक रहेको भन्दै अलमुताइरीले टोली निर्माणमा आफ्नो अधिकार रहेकाले एसियन कप छनोटका लागि भने शिविर छाडेका खेलाडीलाई नराख्ने उल्लेख गरेका छन् । १० खेलाडीले शिविर छाडेपछि अलमुताईरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएर तयारी गरे ।
प्रतिक्रिया दिनुहोस्