२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


मेयर भएपछि एक दिन मात्र सगुन खान्छु : केशव स्थापित


3.549k
Shares

काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताउनुभयो ।

आइतबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सीपल्टबाट काम सुरु गर्ने बताउनुभयो ।

उहाँले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गर्नुभयो । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाई छ । कार्यक्रममा बोल्दै एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई विदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाउनुभयो ।

डंगोलले महिलाहरुलाई पुरुष सरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने संकल्प गर्नुभयो ।