२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


कठिन श्रमको न्यून मूल्य


117
Shares

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रम गरेर आफ्नो जीविकोपार्जन गर्ने समुदायको सम्मानमा यो दिवस मनाइन्छ । यसदिनमा देशका कार्यकारी प्रमुखदेखि मूलधारका राजनीतिक नेताहरुले श्रमिकका पक्षमा वक्तव्य निकालेका छन् । तर जति श्रम गरेपनि महँगीले ढाड सेकिँदा यो वर्गले आफूलाई सुरक्षित महसूस गर्न सकेको छैन् । अझ अनौपचारिक श्रमिकको तथ्यांक नसमेटिदा कानूनी अधिकारबाट अझै लाखौं श्रमिक वञ्चित छन् ।

बैशाखको टन्टलापुर घाममा आफ्नो शारीरिक क्षमताले सकी नसकी छाक टार्न निरन्तर पसिना बगाउने यो वर्गका मानिस दिनरात नभनी काममा खटिने गर्दछन् । तर आफ्नो कामको उचित मूल्य नपाउँदा उनीहरु आफूले गरेको कामप्रति असन्तुष्ट छन् । अझ दिनप्रतिदिन बढ्दो महँगीले त उनीहरुलाई आफू र आफ्नो परिवार पाल्न समेत हम्मे हम्मे परेको छ । आफ्नो कामको उचित मूल्यांकन भइदिए दैनिक जीवन सहज हुने श्रमिकहरु बताउँछन् ।

नजिकिदै गरेको स्थानीय तहको चुनावमा उनीहरुको चासो छैन । आफ्नो वर्गको हक अधिकारका विषयमा राजनीतिक दलहरु बेखबर हुँदै आएको यो समुदायको निष्कर्ष छ । जुनसुकै तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिले सानो व्यवसाय गर्नेहरुलाई नबुझेको बजदुरहरु बताउँछन् ।

नेपालमा जम्मा श्रमशक्ति ६० लाख ८६ हजार रहेको छ । ती मध्ये औपचारिक २६ लाख ७५ हजार र अनौपचारिक क्षेत्रमा १४ लाख ३४ हजार श्रमिक कार्यरत छन् । सरकारले अनौपचारिक र स्वरोजगारको क्षेत्रलाइ समेट्ने योजना ल्याउन नसक्दा, बढ्दो महँगी र आधुनिकीकरणले गर्दा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुका लागि जीविकोपार्जन कठिन भएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा सबै राजनीतिक दलको श्वेतपत्र आवश्यक छ ।