१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महानगरको मतपत्रमा सात वटै चुनाव चिन्ह, गलत सूचना दिनेलाई कारबाही : आयोग


3.614k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिह्न रहने भएको छ ।

निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा मतपत्र छपाइ सुरू गरेको छ । सुरुमा उम्मेदवारी दिएको पत्रमा मात्र दलको चुनाव चिन्ह रहने भनिएको थियो । यसो गर्दा गठबन्धन गरेका दलहरूले लाभ लिन सक्ने थिए । तर आयोगले कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिह्न रहने बताएको छ ।

मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुन्छ । यीमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि उक्त दलको सातवटै चुनाव चिह्न रहने आयोगले जनाएको छ ।

यसैबीच आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएको छ ।

आयोगले निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्री प्रचार प्रसार नगर्न सीमावर्ती देशलाई पत्राचार गर्न पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।