
काठमाडौं । एकतातिर मुलुकको राजधानी, अर्कोतिर सिंगो राजनीतिको केन्द्रविन्दु । आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको निर्वाचन सर्वाधिक चर्चा र चासोको विषय बनेको छ । मुलुकको समग्र राजनीतिमा प्रभाव पार्ने काठमाडौं महानगरको निर्वाचन यसपटक विरासतको लडाईका कारण पनि थप रोचक बनेको छ । मेयर पदका लागि मुख्य प्रतिस्पर्धामा देखिनुभएका केशव स्थापित र सिर्जना सिंह दुबैको आ–आफ्नै विरासत छ ।
काठमाडौं महानगरपालिकाको मेयरका मुख्य प्रतिस्पर्धी एमालेका उम्मेद्वार केशव स्थापित र सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार सिर्जना सिंहको आ–आफ्नै विरासत छन् । एमालेका उम्मेद्वार स्थापितको पदीय विरासत छ । २५ वर्षअघि २०५४ को स्थानीय तह निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला नदी किनारको करिडोर, माइतिघर मण्डला निर्माण र रत्नपार्कको सडक चौडा बनाएको जस स्थापितलाई दिने गरिन्छ । यिनै काम र चर्चाको बलमा स्थापित अहिले चुनावी मैदानमा मुख्य प्रतिष्पर्धी देखिनुभएको छ ।
तर, त्यसपछि भने स्थापितले पाएका कुनैपनि जिम्मेवारीमा सफल हुन सक्नुभएको छैन् । तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा २०६० सालमा स्थापित पुनःकाठमाडौं महानगरको मेयर भएपनि निकै विवादित र आलोचित बन्न भयो । २०६८ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख गरेपनि काम गर्न नसकेको भन्दै ९ महिनामै बर्खास्तीमा पर्नुभयो ।
स्थापितसँग मुख्य प्रतिष्पर्धीमा रहनुभएकी कांग्रेस नेतृ सिर्जना सिंहको भने पारिवारिक विरासत छ । नेपाली कांग्रेसका शीर्ष नेता गणेशमान सिंह र नेतृ मंगलादेवी सिंहका पुत्र कांग्रेस नेता प्रकाशमानसिंहकी पत्नी सिर्जना नेविसंघको राजनीतिबाट आउनुभएको हो । २०४० को दशकमा विद्यार्थी राजनीति गर्नुभएकी सिंह शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेविसंघसहित तरुण दल, महिला संघमा समेत सक्रिय राजनीति गर्नुभएपनि सिंहलाई विपक्षीले पारिवारिक विरासतको ट्याग लगाईरहेका छन् । विपक्षीको आलोचनालाई उम्मेद्वार सिंहले खण्डन गर्दै आउनुभएको छ ।
एकातिर राजनीतिको मुख्य केन्द्र र अर्कोतिर विरासतको प्रतिस्पर्धाका कारण काठमाडौं महानगरको चुनाव थप रोचक र चासोको विषय बन्दै गएको हो । मतदाताले एजेण्डा वा इज्जत के रोज्छन, त्यसको छिनोफानो हुन चाहिँ निर्वाचन परिणाम पर्खिनुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्