१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वतन्त्र उम्मेदवार १२ हजार ७८९


104
Shares

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २ सय २१ पदका लागि कूल एक लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारको संख्या १२ हजार ७ सय ८९ रहेको छ । निर्वाचन आयोगमा दर्ता भएका ८९ राजनीतिक दलमध्ये १३ दलका उम्मेदवार शून्य छन् ।

मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा छन् । यी स्थानीय तहमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्रमुख÷उपप्रमुख, गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, वडाहरुमा वडाध्यक्ष र सदस्य पदमा निर्वाचन हुँदै छ ।

कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ छन् । तीमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १०, महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० र अन्य मतदाताको संख्या १ सय ८३ रहेको छ । त्यसैगरी निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा कूल उम्मेदवारमध्ये ९५ हजार २ सय ५३ पुरुष र ५७ हजार ९ सय ६७ महिला छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये नेकपा (एमाले) का ३३ हजार ५ सय ३, नेपाली कांग्रेसका ३१ हजार ४ सय २५, नेकपा (माओवादी केन्द्र) का २२ हजार २ सय ७९, नेकपा (एकीकृत समाजवादी) का ११ हजार ३ सय ३०, जनता समाजवादी पार्टी नेपालका नौ हजार ४ सय ८१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका चार हजार ७ सय ६१ उम्मेदवार छन् ।

त्यसैगरी यस निर्वाचनमा १२ हजार ७ सय ८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा दर्ता भएका जम्मा ८९ राजनीतिक दलमध्ये १३ दलका उम्मेदवार शून्य छन् ।

हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान तथा बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । आइतबार लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइएको छ ।

काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरूमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।