१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजनीतिक दल चुनाव जितेपछि गाउँ नै नटेक्ने मुसहर समुदायकाे गुनासो

मुसहर बस्तीलाई राजनीतिक दलले कमाई खाने थलो बनाए

143
Shares

नवलपुर । नवलपुरमा राजनीतिक दलहरु चुनावको समय मुसहरहरुले ज्याला मजदुरी गरिरहेकै ठाउँमा पुग्ने गर्छन ।

तर जितेपछि भने गाउँ नै नटेक्ने गरेको मुसहर समुदायले गुनासो गरेका छन । पटक–पटकको निर्वाचनमा आफूहरूले भोट दिएपनि मुसहर बस्तीलाई जनप्रतिनिधिले आश्वासन मात्र बाँड्ने काम गरेको उनीहरुकाे तर्क छ । मुसहर बस्तीलाई राजनीतिक दलले कमाई खाने थलो बनाएकाे उनीहरुको आरोप छ।

जित हारको आँकडा, प्रतिस्पर्धीलाई कसरी पछार्ने भन्ने दाउ अनि के गर्दा मतदातालाई फकाउन सकिन्छ भन्ने रणनीति छ । गाउँ–शहर टोल बस्तीमा चल्ने चर्चा अहिले यिनै हुन । चुनावी रापले धेरैलाई तताएको छ । तर यस्ता केही वर्ग र समुदाय पनि छन जसलाई बिहान बेलुकाको छाक टार्न मुस्किल हुँदा समेत चुनावी चर्चासँग कुनै मतलव नै छैन ।

चोक चोकका चिया पसलमा हुने बहसले तराईको तातो मौसमलाई अझै रापिलो बनाएको छ । दलका नेता, कार्यकर्तासँगै उम्मेदवार मतदाता रिझाउन व्यस्त छन । तर नवलपुरको मुसहर वस्तीमा भने चुनावको कुनै रौनक छैन । कावासोती नगरपालिका–१५ शेरगञ्जमा १ सय २७ घरधुरी मुसहरको छ ।

अति सिमान्तकृत मुसहर नदी खोलामा माछा मार्ने, ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन । हुनेखानेलाई त चुनावको रौनक छ तर बिहान खाए साँझ कसरी गुजारा गर्ने भन्ने समस्याबाट माथि उठ्न नसकेका मुसहर बस्तीका स्थानीयहरु भने चुनावका बारेमा भने बेखबर छन।

पटक–पटकको निर्वाचनमा आफूहरूले भोट दिए पनि मुसहर बस्तीलाई जनप्रतिनिधिले आश्वासन मात्र बाँड्ने काम गरेको उनीहरुको भनाइ छ । चुनावको बेला ज्याला मजदुरी गरिरहेकै ठाउँमा पुग्ने उम्मेदवार जितेपछि गाउँ नै नटेक्ने गरेको मुसहरहरुकाे गुनासोछ छ ।

वर्षेनी बाढीको वितण्डा झेल्दै आइरहेको मुसहर बस्तीलाई जनप्रतिनिधिहरुले कमाई खाने थलो बनाएको उनीहरुको आरोप छ। गत वर्ष आएको बाढीले बालीसँगै खेत वगरमा परिणत गरिदियो । अघिल्लो निर्वाचनमा तटबन्ध बनाइदिने आश्वासन पाएका स्थानीय पुरानै बचन सम्झिरहेका छन। विपन्नताले गर्दा यहाँका अधिकांश बालबालिकाले विद्यालय शिक्षालाई निरन्तता दिन सक्दैनन् । अभिभावकसँगै काममा जानु उनीहरुको नियति बनेको छ ।

२०६२/०६३ को जनआन्दोलनपछि देशमा ठूलाठूला राजनीतिक परिवर्तन भएपनि तराईका दलितमध्ये सबै भन्दा पिछडिएको मुसहर समुदायको अवस्था भने ज्युँका त्यूँ छ ।