१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गुल्मीमा चुनावी सरगर्मी बढ्याे


91
Shares

गुल्मी । लुम्बिनी प्रदेश अन्तरगत गुल्मी जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

केन्द्रीय नेताहरु गोकर्ण विष्ट, चन्द्र भण्डारी, प्रदिप ज्ञवाली, रामकुमारी झाँक्री लगायतका नेताहरुको गृह जिल्ला रहेको गुल्मीमा दलहरु आफ्नो पक्षमा मतदातालाई प्रभावित गर्न विभिन्न चुनावी एजेण्डासहित घरदैलो अभियानमा जुटेका छन ।

स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा देशभर दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन । निर्वाचनमा आफ्ना पक्षमा मत माग्न गुल्मीमा पनि विभिन्न दलका नेता कार्यकर्ताको व्यस्तता बढेको छ । स्थानीय नेतादेखि केन्द्र तहका नेता र मन्त्रीसमेत गुल्मीको निर्वाचनमा सक्रिय भएर लागिपरेका छन।

१२ वटा स्थानीय तह रहेको गुल्मीको मालिका, मदान, सत्यवती, कालिगण्डकी, चन्द्रकोट र रुरुक्षेत्र गाउँपालिकामा नेकपा माओवादी र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ। त्यस्तै धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । साथै मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । रेसुङ्गा नगरपालिका, गुल्मीदरवार गाउँपालिकामा तीन पार्टीबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेस र जनमोर्चाबीच चुनावी तालमेल भएको छ।

मनोनयन गरेसँगै मतदाता रिझाउन गाउँगाउँ पसेका उम्मेदवारलाई छोटो समयमा मतदाता भेटेर आफ्ना योजना सुनाउने चटारो छ । मतदातालाई आफ्नो पक्षमा पार्न दलहरुले विगतमा जस्तै यस पटक पनि विभिन्न योजनासहितका घोषणापत्र लिएर घरदैलो अभियान चलाइरहेका छन। चुनाव प्रचार प्रसारलाई तीव्र बनाउँदै सबै जसो दलका उम्मेदवार र प्रतिनिधि आफ्नो पक्षमा मत माग्न सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी तथा रोजगारी जस्ता विकासका योजना सुनाउदै हिंडेका छन।

तर मतदाता भने यस पटक स्थानीय नेतासँग सन्तुष्ट छैनन् । चुनावको समयमा आफूले गरेका प्रतिवद्धता पूरा गर्न चासो नदेखाउने नेता मतदाताको अपेक्षा पूरा गर्न चुकेको भन्दै यस पटक भने विकासप्रेमी नेता चयन गर्ने मतदाता बताउँछन। गुल्मीका १२ वटा स्थानीय तहका ९३ वटा वडामा निर्वाचन हुँदैछ । ती स्थानीय तहमा ४ सय ८९ पदका लागि १ हजाच २ सय ४३ जनाको उम्मेदवारी परेको छ।

२ लाख ४६ हजार ८ सय ३६ जनसंख्या रहेको गुल्मीमा २ लाख २४ हजार २ सय ७६ जना मतदाता रहेका छन। निर्वाचनको लागि १ सय ४२ मतदान स्थल तोकिएको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । २०७४ सालको निर्वाचनमा १२ स्थानीय तहमध्ये ७ वटामा नेकपा एमाले ४ वटामा नेपाली कांग्रेस र १ वटामा नेकपा माओवादी प्रमुखमा विजयी भएको थियो।

तर यस पटक फरक गठबन्धन र भिन्न-भिन्न सिद्धान्त भएका नेताले कसरी मतदातालाई आफ्नो पक्षमा पार्न सक्छन् भन्ने हेर्न बाँकी छ ।