
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका कांग्रेसका उम्मेदवार अमृत खनाल एक महिलाको पाउमा १ हजारको नोट राखेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मतदाताको पाउमा पैसा राखेर भोट मागेको भन्दै उहाँको चर्को आचोचना भइरहेको छ । चुनावी प्रचारका लागि घरदैलो गरिरहनुभएका खनालले प्रत्येक घरमा यसैगरी भोट माग्दै हिँडेको उहाँमाथि आरोप छ ।
कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागेको भन्दै विपक्षीले आरोप लगाएका छन् । तर, खनालले भने तस्वीरलाई विपक्षीले प्रचारको मसला बनाएको भन्दै दुःख व्यक्त गर्नुभयाे ।

खनालले उक्त तस्वीरमा गोडा ढोगिएकी महिला मतदाता नभएर आफ्नी फुपु भएको बताउनुभएको छ । महिलाको नाम चेतकुमारी कार्की हो ।
फुपाजु बितिसकेको हुनाले दिदीको दैनिकीलाई सहजता होस् र दिदीप्रतिको सम्मानमा आफूले हरेक पटक भेट्दा केही रुपैयाँसहित ढोग गर्ने गरेको उहाँले बताउनुभयो ।
फुपु कार्कीको घर वडा नम्बर १० भए पनि मतदाता नामावली भने वडा नम्बर ९ मा रहेको छ । फुपुले आफूलाई मत दिनै नपाउने भए पनि विपक्षीले गलत प्रचार गरेको खनालले बताउनुभयो ।

साथै सञ्चार माध्यमहरूले पनि एकतर्फी रूपमा समाचार सम्प्रेषण गरेकोप्रति उहाँको आपत्ति जनाउनुभयो । समाचार बनाउँदा बुझेर बनाउन उहाँको सुझाव छ ।
यस विषयमा महिलासँग बुझ्दा उहाँले पनि खनाल आफ्नो भाइ भएको र वडाध्यक्षको उम्मेदवार बनेकोमा टीका लगाएको आशिर्वाद दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्