१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इन्टरनेट बन्द हुने अवस्था आउन नदिन सरकारलाई आयोगको निर्देशन


611
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आउन नदिन सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचनका बेला इन्टरनेट सेवा बन्द भए निर्वाचनको व्यवस्थापनमा गम्भिर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तै, स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३ सय ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको पनि आयोगले जनाएको छ । सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३ सय ५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताउनुभएको हो ।

त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उहाँले जानकारी दिनुभयो । आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उलंघन गरेकाले सम्बन्धित दललाई सचेत गराएको र आगामी दिनमा आचारसंहिता विपरितका काम नगर्न निर्देशन दिएको छ ।

त्यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य शशांक कोइरालाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्तिप्रति जवाफ माग गरिएको र आगामी दिनमा यस्तो अभिव्यक्ति नदिन सचेत गराएको छ । सहायक प्रवक्ता अर्यालले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति सचेत गराइएको जानकारी दिनुभयो ।

निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको पनि अर्यालले जानकारी दिनुभयो ।