
कैलाली । कैलालीमा स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महिला उम्मेदवारको सहभागिता निकै न्यून देखिएकाे छ ।
अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवारको रजगज भएकाे छ । दलहरुले महिलालाई प्रमुख पदमा अगाडि त सारेनन् नै झन गठबन्धनका कारण प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवारको बाहुल्यता रहेकाे छ ।
१३ वटा पालिकाहरु रहेको कैलालीमा दुई जना महिलाको मात्रै प्रमुखमा उम्मेदवारी परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहको प्रमुखमा पुरुषहरुको मात्रै उम्मेदवारी परेको छ । नेकपा एमालेले कैलारी गाउँपालिकाको अध्यक्षका लागी महिलालाई अगाडी सारेको छ भने, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले लम्कीचुहा नगरपालिकाको प्रमुखमा महिलालाई अगाडी सारेको छ ।
अन्य स्थानीय तहमा एमालेले महिलालाई उपप्रमुखमै सीमित राख्यो । तर सत्ता गठबन्धनले उपप्रमुखमा समेत पुरुषकै उम्मेदवारी दर्ता गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी, घोडाघोडी, लम्की चुहा नगरपालिकामा सत्ता गठबन्धनले महिला उप प्रमुख बनाएको छ । यस्तै चुरे र कैलारी गाउँपालिका बाहेक अन्य स्थानीय तहमा सत्ता गठबन्धनले उपप्रमुखमा पनि पुरुषनै उम्मेदवार बनाएको छ । महिलालाई अवसरबाट बञ्चित गराइएपछि गठबन्धनभित्रै अशन्तुष्टि सुरु भएको छ ।
महिलाहरुलाई कार्यकारी पदमा पुग्नै नदिने राजनीतिक दलको परिपाटीका कारण महिलाहरु अगाडी बढ्न नसकेको सत्तारुढ दलकै नेताहरु बताउँछन् । संविधानले दिएको अधिकार दिनबाट समेत राजनीतिक दल चुक्दा फेरी महिलाका अधिकार कुण्ठित हुन पुगेको उनीहरु बताउँछन् ।
वडा अध्यक्षमा दावी गर्ने महिलालाई वडा सदस्यमा झार्ने, प्रमुखमा दावी गर्नेलाई उप प्रमुखमा झार्ने दलको कामले महिलाहरु नेतृत्व तहमा कहिल्यै पुग्न नसक्ने विश्लेषण गरिन थालिएको छ । महिलाका अधिकार कुण्ठित गरेर दलहरुले संविधान नै कुल्चिने काम गरेको अधिकारकर्मीको दावी छ ।
राजनीतिक नेतृत्वले श्रीमती, छोरी, र छोरा हुँदा प्रमुख दिने तर अरुका छोरी श्रीमती हुँदा वडा सदस्य र उपप्रमुखमा झार्ने प्रवृत्तिले आम महिलाहरु निराश भएका छन । राजनीति गर्नका लागि नेतृत्वको छोरी वा श्रीमतीनै चाहिने प्रवृत्ति हावी हुँदासम्म आम महिलाले अधिकार नपाउने भन्दै दलकै विरुद्ध महिला नेतृहरु उत्रीन समेत थालेका छन।
प्रतिक्रिया दिनुहोस्