
एजेन्सी, चैत्र २२ । अमेरिकाले आफ्ना देशका मास्क उत्पादक कम्पनीहरुलाई मास्क विदेश निर्यात गर्न रोक लगाइदिएको छ ।
अमेरिकी सरकारले प्रमुख मास्क निर्माता कम्पनी ३एम लाई क्यानडा तथा ल्याटिन अमेरिकामा मास्क निर्यात नगर्न आदेश दिएको हो ।
अमेरिकामा निर्मित एन९५ मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न सरकारले आग्रह गरेको ३एमले जनाएको हो ।
बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोरियन युद्धको बेलाको सुरक्षा सामग्री उत्पादन सम्बन्धी कानून लागु गर्दै ३एमलाई थप मास्क उत्पादन गर्न आदेश दिएको थियो ।
उता, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले भने ३एमका मास्क निर्यातमा रोक लगाएमा त्यो ठूलो गल्ती साबित हुने टिप्पणी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिफेन्स प्रोडक्सन एक्टको प्रयोग ३एमलाई गम्भीर तरिकाले हिर्काउनका लागि प्रयोग गरेको बताएका छन् । सन् १९५० को सो कानूनले राष्ट्रपतिलाई कुनै पनि कम्पनीलाई भनिएको सामग्रीको उत्पादन बढाउन बाध्य पार्ने अधिकार दिन्छ ।
३एमले प्रतिमहिना १० करोड एन९५ मास्क उत्पादन गरिरहेको छ । त्यसमध्ये एक तिहाई मास्कको उत्पादन अमेरिकामा हुने गर्छ । बाँकी मास्कको उत्पादन भने विश्वका विभिन्न देशमा रहेका उद्योगमा हुने गरेको उक्त कम्पनीले जनाएको छ ।
क्यानडाले भने एन९५ मास्कको उत्पादन गर्दैन । अमेरिकाको यो निर्णयले क्यानाडा र ल्याटिन अमेरिकामा निकै ठूलो मानवीय संकट ल्याउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्