
काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैठौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले पहिलो सेट २६–२४ ले गुमाए पनि दोस्रो र तेस्रो सेटमा जित निकाल्दै खेलमा फर्किने संकेत देखाएको थियो । दोस्रो र तेस्रो सेटमा १३–२५, २०–२५ को जित निकालेको थियो ।
जित सुनिश्चित गर्न न्यू डायमन्डलाई चौथो सेट जित्नै दबाब भए पनि चौथो सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा २१–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा पुगेको थियो । अन्तिम तथा निर्णायक सेटमा एभरेस्टले १५–१३ ले आफ्नो पक्षमा पारेपछि साविक विजेता स्तब्ध भएको हो ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही सम्मिलित एभरेस्ट यसअघि त्रिभुवन आर्मीसँग सोझो सेटमा पराजित भएको थियो । यससँगै न्यू डायमन्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
महिलातर्फ मंगलबार नै सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । एपिएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित गर्दा आर्मीले जारी लिगमा पहिलो हार भोगेको हो ।
एपिएफले यसअघि नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीले समान तीन अंक जोडेका छन् ।
प्रतिक्रिया दिनुहोस्