
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने भएको छ ।
उक्त चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका सातै प्रदेशका विभिन्न स्थानमा सभा गर्ने तयारी छ ।
चुनावी सभामा सभापति देउवासहित पदाधिकारी र केन्द्रीय नेताहरुले सम्बोधन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले वैशाख २१ गते बुधबार विराटनगरमा सभा गर्ने छ । उक्त सभामा सभापति देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने छन् । बैशाख २२ मा चितवनमा सभा हुने छ । उक्त सभामा सभापति देउवा, नेता पौडेललगायत नेताले सम्बोधन गर्ने छन् ।
बैैशाख २३ गते काठमाडौंमा हुने चुनावी सभालाई सभापति देउवासहित अन्य शीर्ष नेताले सम्बोधन गर्ने छन् । बैशाख २४ मा बुटवलम, तनहुँको दमौली र जनकपुरमा सभा हुने कांग्रेसले जनाएको छ । सो सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगन थापालगायत वक्ता रहने छन् । बैशाख २५ गते पोखरा र दाङमा चुनावी सभा हुने छ ।
बैशाख २६ गते कैलालीको धनगढीमा सभा हुँदा वैशाख २७ गते डडेल्धुरामा सभा हुने छ । बैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्