१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको अर्थतन्त्रमा संरचनागत समस्या : पूर्वअर्थमन्त्री खतिवडा


65
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडाैंमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रूपमा ६, ७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा समेत व्यापार घाटा भइरहेकाे बताउनुभयाे ।

डा. खतिवडाले उद्योग क्षेत्रको विकास गरेर वस्तु तथा सेवाकाे निर्यात गर्ने गरी लगानी गरे मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । पछिल्लाे समय जलविद्युतमा धेरै ठूलो लगानी विस्तार गरेर बुढीगण्डकी जस्ता चारवटा ठूला आयोजनाहरू एकैपटक निर्माण गरेमा देश श्रीलंकाकाे बाटाेमा जाने बताउनुभयाे ।

डा. खतिवडाले अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालय एकापट्टी तथा राष्ट्र बैंक अर्को बाटोमा हिँडेकाले देशमा आर्थिक संकटकाे जाेखिम बढेकाे जिकिर गर्नुभयाे । मुलुकलाई आत्मनिर्भर बनाउन चामल आयात राेक्नुपर्नेमा उहाँकाे जाेड छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले पछिल्लो समय रूस र युक्रेनको युद्धको कारण पेट्रालियम पदार्थको मूल्य बढ्दा मुलुकको अर्थतन्त्रमा थप चुनौती देखिएको बताउनुभयो । विश्वमा नै ३ प्रतिशतले आयात बढ्ने देखिएकाले विश्व अर्थतन्त्रमा नै चुनौती देखिएको उहाँकाे भनाइ छ ।

डा. भट्टले राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्क उल्लेख गर्दै नेपालमा आर्थिक गतिविधिहरू चलायमान भइरहेको बताउनुभयो । पछिल्लो समय ९० प्रतिशत उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएको उहाँकाे भनाइ छ ।

प्रवक्ता भट्टले अर्थतन्त्र पुनरुत्थान भइरहे पनि वर्तमान चुनौती सामना गर्न बलियो क्षेत्र खोजेर व्यवस्थापन गर्नु समस्या रहेको बताउनुभयो । वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत मात्रै कर्जा विस्तार हुने अनुमान भए पनि अहिले २२ प्रतिशतले कर्जा विस्तार भएको बताउनुभयो ।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार केसीले पछिल्लो समय अर्थतन्त्र चलायमान भएकाले बैंकहरूले विगतमा गरेकाे लगानीकाे प्रभाव देखिएको बताउनुभयो ।

बजारमा तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकले कृषिमा ३० प्रतिशत र माइक्रोफाइनान्समा ३८ प्रतिशत र समग्र उत्पादन उद्योगमा ४५ प्रतिशत लगानी गरेकाे जानकारी गराउनुभयाे ।