
रसुवा । जिल्ला प्रहरी कार्यालयले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी मदिरा बिक्री वितरणका लागि समय सीमा निर्धारण गरेको छ ।
स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म प्रत्येक दिन अपराह्न ४ बजेपछि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो ।
जिल्लामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मदिराजन्य पदार्थ बिक्री वितरणमा समय सिमा तोकिएको उहाँले बताउनुभयो ।
मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै–झगडाको सम्भावना बढ्नसक्ने विगतका घटनाक्रमले देखाएकाले इजाजत प्राप्त व्यक्तिले मात्र तोकिएको समयमा मदिरा बिक्री गर्न पाउने व्यवस्था मिलाइएको हो ।
जसका लागि जिल्ला प्रहरी कार्र्यालयले अनुगमन कार्य अगाडि बढाएको छ । मदिरा बिक्री गर्ने पसल र होटल साँझ ७ बजेपछि बन्द गर्न प्रहरीले निर्देशन जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्