
परासी । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा बैशाख २७ गतेदेखि बन्द हुने भएको छ ।
भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीहरूको सुनवलमा सम्पन्न बैठकले बैशाख २७ गते साँझ ७ बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरूको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचनमा सीमा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणका सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसबाहेक सीमा क्षेत्रबाट भित्रिने लागुऔषध, मानव बेचविखन र तस्करी नियन्त्रणका विषयमा पनि गम्भीर छलफल भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । सीमा बन्द भए पनि वैवाहिक कार्यक्रम र एम्बुलेन्सलाई भने आवतजावत गर्न दिइनेछ ।
निर्वाचनमा सीमा क्षेत्रबाट हुन सक्ने अपराधिक गतितिविधिसँगै अन्य क्रियाकलाप नियन्त्रणमा सहयोग गर्नु आफूहरूको पनि कर्तव्य भएकाले गस्ती बढाएर निगरानी बढाउने भारत पश्चिम चम्पारनका प्रमुख जिल्ला अधिकारी(डिएम) कुन्दन कुमारले प्रतिवद्धता जनाउनुभयो ।
बैठकमा चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तर्गत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्