
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको आरोप लगाउनुभएको छ ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा गोल्छाले आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताउनुभएको हो । उहाँले सरकार राजश्वमुखी भएर हिडुन्जेलसम्म आर्थिक अवस्थामा निरन्तर दबाब परिरहने बताउनुभयो । विश्व भरका निजी क्षेत्रको एउटै उद्देश्य नाफा भएकाले आफूहरुले त्यही अनुसार सोच्ने बताउदै कर्जा कता गइरहेको छ ? सही दिशामा गयो गएन भन्ने कुरा नियामक निकायले हेर्ने विषय भएको उहाँले बताउनुभयो ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिन थालेको बताउनुभयो । श्रीलंकामा शासकले हचुवाको भरमा निर्णय गर्दा मुलुकको अर्थतन्त्रमा समस्या बढेको भन्दै वाग्लले नेपालमा पनि त्यस्तै प्रवृति हाबी हुने गरेको बताउनुभयो । वाग्लेले श्रीलंकामा जथाभावी रूपमा कर चलाउँदा समस्या भएको बताउँदै कर नीति चलाउँदा सजग हुनुपर्ने बताउनुभयो ।
यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले पछिल्लो तथ्यांक विश्लेषण गर्दा चालु आर्थिक वर्षभर तरलता सहज नहुने देखिएको बताउनुभयो ।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकमा देखिएको अर्थतन्त्रको अहिलको अवस्था नयाँ नभएको बताउँदै समस्या समाधानकालागि प्रत्यक्ष वैदेशिक लगानी बढाउनुको विकल्प नरहेको बताउनुभयो ।
यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकार परिवर्तन हुनेबित्तिकै नीति परिवर्तन हुने गरेकाले समस्या आएको बताउनुभयो ।
उहाँले सरकारले आयात रोक्दा पनि सोच पु¥याएर मात्रै निर्णय गर्न सरकारलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्