१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कोरोनाको परीक्षण तीब्र बनाऔंः पूर्वराजा ज्ञानेन्द्र, ‘राज्यकोषको दोहन निन्दनीय’


0
Shares

काठमाडौं, चैत्र २२ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको परीक्षणलाई तीब्र बनाउन सुझाव दिएका छन् ।

कोरोना भाइरसको संक्रमण फलँदै जाँदा जनमानसमा त्रास र अन्यौलको अवस्था सृजना भएको पनि उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् अहिलेको अवस्थाबारे टिप्पणी गर्दै पूर्वराजा शाहले अरु देशको अवस्था हेर्दा अहिले नै ढुक्क हुने अवस्था नरहेकोमा सचेत पनि गराएका छन् ।

@GBBShah ह्याण्डल रहेका पूर्वमहाराज ज्ञानेन्द्र शाह सामाजिक सञ्जाल ट्वीटरमा लेख्छन्, ‘फैलिदैं गएको कोरोना संक्रमणको त्रासका कारण जनमानसमा अन्योल एवं भयको अवस्था महसुस गर्न सकिन्छ । यस अवस्थालाई सहज बनाउन सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनुका साथै परीक्षणलाई तिब्र बनाउनु जरुरी हुन्छ । अन्य देशको स्थिती हेर्दा अहिले नै ढुक्क हुने अवस्था नआइसकेको प्रतित हुन्छ ।’

पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत नै भए पनि मुलुकको अवस्थाप्रति सरोकार देखाउँदै आएका शाहले यसअघि हिजो शुक्रवार मात्र पनि सरकारको ध्यान गरीब, निमुखा नागरिकप्रति नपुगेको टिप्पणी गरेका थिए । 

यस्तो शैलीको शासनले नकारात्मकता मात्र पैदा गर्नेतर्फ सचेत गराउँदै ट्वीटरमा उनले लेखेका थिए, ‘देश संकटमा परेका बेला आम नागरिकको दैनिक जीवनलाई सहज बनाउनु सरकारको प्रथम दायित्व हो । गरिव, निमुखा नागरिकमा सरकारको ध्यान पुगेको देखिएको छैन । यसले नकारात्मकता पैदा गर्ने संभावनालाई जीवित राख्दछ जुन सर्वथा हितमा हुँदैन । प्राथमिकताका आधारमा शासन पद्धति कायम हुनु अनिवार्य हुन्छ ।’

राज्यकोषको दोहन निन्दनीय कार्य

त्यसैगरी तीनदिनअघि भने उनले चीनबाट सरकारले किनेको सामानका बारेमा टिप्पणी गरेका थिए । कोरोनाविरुद्ध चीनबाट किनेको सामान त्रुटिपूर्ण भन्दै स्वास्थ्यकर्मीले फिर्ता गर्नु र यसबाट नागरिकमा नकारात्मक प्रभाव पुर्न अगावै सावधान हुन उनले सरकारलाई सचेत गराएका थिए ।

उनले कुनै पनि बहानामा राज्यकोष दोहन हुनु निन्दनीय कार्य हो भन्दै उनी लेख्छन्, ‘कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको अवस्थामा सरकारले भित्र्याएको त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पर्नुभन्दा पहिले नै सावधान हुनु जरुरी छ । कुनै बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य हो ।’

यसअघि चैत्र १८ गते पूर्वराजा शाहले कोरोनाविरुद्ध लड्न सरकारले बनाएको कोषमा दुई करोड दान दिने घोषणा पनि गरेका थिए ।