१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रातो मच्छिन्द्रनाथको रथयात्रा तानियो, भक्तजनको भीड


39
Shares

काठमाडौं । बुधबारबाट रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।

रथारोहण गरेको ४ दिनपछि रथ तान्न सुरु गरिएको हो । ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।

यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ ।

करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा वरदेवले बनाउने चलन चलाएका थिए । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा बैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिव दुई महिना मनाउने गरिन्छ ।