
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली फेरि सत्तामा आउन सक्ने बताउनुभएको छ ।
बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनमा मत नहाले ओली फेरि सत्तामा आउने बताउनुभएको हो ।
त्यस्तै, उहाँले ओलीका गलत कदम रोक्न गठबन्धनका पक्षमा मत हाल्न मतदातालाई आग्रह गर्नुभयो ।
देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सभापति देउवाले प्रधानमन्त्री भएको नभइ प्रतिगमनलाई रोक्न प्रधानमन्त्री भएको बताउँदै उहाँले गठबन्धन पनि त्यही आवश्यकताअनुसार बनेको दाबी गर्नुभयो । अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।
चुनावी सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक भएको बताउनुभयो । कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनलाई भोट दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्