१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आफूले जित्नेमा ढुक्क छैनन् दाङका उम्मेदवार, गठबन्धन र एमालेबीच टक्कर


416
Shares

दाङ । जिल्लामा एक अर्काबीचको कडा प्रतिस्पर्धाले उमेदवारहरू आफैँले जित्नेमा ढुक्क हुन सकेका छैनन् ।

गठबन्धन र त्यसबाहेकका राजनीतिक दलले प्रतिष्ठित र राम्रा उम्मेदवार उठाएका कारण नतिजा आँकलन गर्न गाह्रो छ । जिल्लाकै महत्त्वको तुलसीपुर उपमहानगरपालिकामा यस पटक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले गेहेन्द्र गिरीलाई मेयरमा उठाएको छ ।

त्यसैगरी नेकपा (एमाले)ले पनि टीकाराम खड्कालाई उमेदवार बनाएको छ । तुलसीपुरमा दुवै उमेदवार उतिकै लोकप्रिय मानिन्छन् । गठबन्धनका कारण माओवादी केन्द्र र एकीकृत समाजवादीको मत नेपाली कांग्रेसले पाउँदा गिरीको सम्भावना बलियो छ ।

मेयरका दुवै उमेदवारले विकृति र विसङ्गतिविरुद्ध, गरिब भूमिहिन, बेरोजगारीको उत्थानको लागि आफ्नो उमेदवारी भएको दाबी गरेका छन् ।

पहिलो पटक भएको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम नगरेको आरोप लागिरहेको अवस्थामा उम्मेदवारहरू फेरि घरदैलोमा आइपुगेका छन् । राजनीतिक दलले स्मार्ट सिटी भन्दै ठूला सपना देखाए पनि कामै नगरेको उनीहरूको आरोप छ ।

गठबन्धनका साझा उमेदवार बनेका गिरीले आफूले जनअपेक्षा अनुसार मिलेर काम गर्ने दाबी गरेका छन् । स्मार्ट सिटी, पहाडमा भ्यूटावर र मोनो रेल भनेर चिटिङ गर्ने काम नगर्ने र जनताका अति आवश्यक कुराहरू स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनामा ध्यान दिने उहाँको भनाइ छ ।

एमालेको तर्फबाट उमेदवार बनेका टीकाराम खड्काले पनि आर्थिक सामाजिक सहित समाजका सबै आवश्यकता पूरा गर्न नै आफूले उम्मेदवारी दिएको दाबी गर्नुभयो ।

चुनावी दौडाहामा दाङमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी र एमालेका महासचिव शंकर पोख्रेलबीचको जुँगाको लडाईं भएको पनि चर्चा छ ।

उमेदवारसँगै केन्द्रीय नेताको घरदैलोमा पनि त्यतिकै दौडधुप छ । घरदैलोमा जनताले भने निःशुल्क शिक्षा, स्वास्थ्य र सर्वसुलभ खानेपानी र गुणस्तरीय सडकको माग गरेका छन् ।

तुलसीपुरमा यस पटक झन्डै एक लाख सात हजार मतदाता रहेका छन् ।