
काठमाडौं । म्यानमारको अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा सुनाइएको सजायबारे पुन विचार गर्न नेतृ आङ साङ सुकीले गरेको अपिल अस्वीकार गरेको छ ।
भ्रष्टाचारको आरोपमा गत साता सुनाइएको पाँच वर्षको सजायविरुद्धमा सुकीले अपिल गर्नुभएको थियो । अदालतले सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उहाँलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
७६ वर्षीया सुकीलाई सेनाविरुद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै छ वर्षको जेल सजाय सुनाइ सकिएको छ । उहाँले कोभिड–१९ मा नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको अदालतले ठहर गरेको छ ।
यो अवधिमा सुकी राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने बताइएको छ । उहाँलाई राज्यको गोपनीयता भंग गरेको, विभिन्न विषयमा भ्रष्टाचार गरेको र चुनावी धाँधली गरेको लगायतका थुप्रै आरोप लगाइएको छ ।
सुकीमाथि लागेको सबै आरोपमा उहाँ दोषी रहेको पाइएमा १ सय वर्षभन्दा बढी जेल सजाय हुनेछ ।
म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपमा कम्तीमा एक हजार ८ सय भन्दा बढी मानिस मारिएका छन् भने १३ हजारभन्दा बढी गिरफ्तार भएका छन् ।
प्रतिक्रिया दिनुहोस्