२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


रामचन्द्र पौडेलले भेटे भरतपुरका बागीसँग


2.002k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्नु भएको छ ।

सत्तागठबन्धनले गर्ने चुनावी सभाका लागि चितवन पुग्नु भएका पौडेलले बिहीबार भरतपुरको होटल सिराँगचुलीमा जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटेर कुराकानी गर्नु भएको हो ।

भेटमा रामचन्द्रले जगन्नाथलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नु भएको थियो । जवाफमा जगन्नाथले कांग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता नहुने अडान कायमै राख्नु भयो ।

जगन्नाथको उम्मेदवारी फिर्ताका लागि यसअघि पनि गठबन्धनका नेताहरुले प्रयास गरेका थिए । तर, जगन्नाथले पार्टीका नेताहरुको आग्रह र पार्टीको निर्देशन अस्वीकार गर्नु भएको थियो ।

भरतपुरमा सत्तागठबन्धनबाट माओवादीकी नेता रेनु दाहाल मेयर र कांग्रेस नेता चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन् । जगन्नाथ स्वतन्त्र ढंगले उम्मदेवारी दर्ता गरेर चुनाव चिन्ह भुइँकटहर लिएर प्रचारमा जुट्नु भएको छ ।

उम्मेदवार जगन्नाथले चुनावी सभालाई सम्बोधन गर्न बुधबार नै भरतपुर पुग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवासँग भने भेट गर्नुभएन । सभापति देउवा र नेता पौडेल एउटै होटलमा बसेको भए पनि जगन्नाथले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने पार्टी सभापति देउवालाई भेट नगर्नुभएको हो ।

जगन्नाथलाई मेयरको उम्मेदवारमा समर्थन गरेका खरेल र प्रस्तावक सापकोटासहित तीनै जनालाई कांग्रेसले निष्काशित गरिसकेको छ ।