
म्याग्दी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार–प्रसारलाई तीव्र पारेका छन् ।
सहर–बजार देखि ग्रामिण क्षेत्रसम्म निर्वाचनको रौनकता छाएको छ । म्याग्दीमा दलहरूले चुनावी प्रचार–प्रसारलाई संगीतमय बनाएका छन् । दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी अभियानलाई थप आर्कषित गर्न दलहरूले गीत–संगीतका माध्यमलाई समेत प्राथमिकता दिएका छन् ।

चुनावी आमसभामा मतदातालाई आर्कषित गर्न दलहरूले कलाकारहरूको टोली नै लिएर हिँडेका छन् । आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारहरूले गाउँ ठाउँको विकासमा केन्द्रित हुन पार्टीलाई भोट हाल्न समेत आह्वान गर्ने गरेका छन् । प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक संगठन गीत–संगीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवार समेत उत्साहित भएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसले स्थानीय कलाकारलाई पारिश्रमिक समेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेका छन् भने नेकपा एमाले र माओवादी केन्द्रले समेत चुनावी खर्चबाट समेट्ने बताएका छन् । नेकपा एमाले बेनी नगरको कार्यक्रम जिल्लामा स्थापित कलाकारहरू नै सहभागि छन् ।

नाटक र अन्य अभिनयबाट अन्य दललाई आरोप लगाउन नपाइने भएकाले अनुगमन समेत गरिने निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्